रौतहट : मधेश प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणको जिम्मा पाएका प्रहरीकै छवि लगातार विवादमा आउन थालेपछि प्रहरीले आन्तरिक कारबाहीको श्रृंखला अघि बढाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीभित्रै पछिल्ला दिनमा कडा कारबाही गर्न सुरु गरिएको छ ।
भदौ ११ गते मात्रै सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेत र सशस्त्र बेस क्याम्प सन्तपुरका डिएसपी राजेन्द्र बस्नेतलाई सोधपुछका लागि हेडक्वाटरमा बोलाइएको थियो । रौतहटको गरुडास्थित एक गोदाममा छापा मार्दा बरामद भएको सामानको भन्दा थोरै मात्र भन्सारमा बुझाइएको घटना बाहिरिएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याइएको हो ।
यसअघि नै बर्दिवासस्थित सशस्त्र प्रहरी २ नम्बर बाहिनी कार्यालयले सुरु गरेको छानबिन प्रक्रियामा डिएसपी अमर लामालाई हेडक्वाटर तानिएको थियो । सोही प्रकरणमा संलग्न १७ जना सशस्त्र प्रहरी कर्मचारीलाई फिर्ता पठाइएको र दुधियाभार प्रहरी निरीक्षकलगायतलाई नसिहत कारबाही गरिएको थियो ।
प्रहरी उपरीक्षक बस्नेत हेडक्वाटर तानिएकै दिन बिओपी गौर भन्सारका प्रहरी नायब उपरीक्षक गान्डीवराज स्याङ्तान नेतृत्वको टोलीले गौरस्थित गोदाममा छापा मारेको थियो, तर गोदाम सिल गरिएको भन्दै तत्काल प्रतिक्रिया नदिए पनि उद्योग वाणिज्य संघ रौतहटले सशस्त्र प्रहरीले व्यापारीलाई दुःख दिएको आरोप लगाएको थियो ।
ट्राफिक प्रहरीमाथि पनि छानबिन
भदौ १० गते मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा)का प्रमुख एसपी राजकुमार सिलवालमाथि उजुरी परेपछि पाँचवटा छानबिन समिति गठन गरिएको छ । सिलवालमाथि मदिरा सेवन गरेर सवारी चलाउनेलाई जरिवाना नगरी रकम असुल्ने, गाडी रोक्दै अनावश्यक दुःख दिने, चोरीका गाडी भन्सारमा नबुझाइ आफैं प्रयोग गर्ने जस्ता गम्भीर आरोप लागेको छ ।
सेटिङको भिडियो सार्वजनिक
रौतहटको चिनी छापा मारिएको घटना तातिरहेको बेला सर्लाहीमा सशस्त्र प्रहरीको संलग्नतामा तस्करबाट नगद रकम लिएको भिडियो सार्वजनिक भएको छ । सखुअवा बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी अधिकारीहरू भारतीय तस्करसँग ‘सेटिङ’ मिलाउँदै पैसा लिएको दृश्य भिडियोमा स्पष्ट देखिएको छ ।
यसअघि पनि सर्लाहीकै इलाका प्रहरी कार्यालय हिरापुरका डिएसपी वैधनाथ दासले तस्करसँग १८ हजार रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो । त्यस्तै ब्रह्मपुरी चौकीका असइ मनोज यादवको एक महिला तस्करसँग ‘सेटिङ’ गरेको अडियो सार्वजनिक भएपछि उनलाई पनि कारबाही गरिएको थियो ।
गत चैतमा हरिवन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले ठुलो मात्रामा लागुऔषध बरामद गर्दा संख्यामा हेरफेर गरेको आरोप लागेपछि उनलाई धनकुटा सरुवा गरिएको थियो ।
घुमुवाको बदनाम भूमिका
मधेशमा अपराध नियन्त्रण र गोप्य सूचना संकलनका नाममा खटाइने ‘घुमुवा’ सधैं विवादमा रहँदै आएका छन् । तस्करसँग नजिक भएर तस्करी सजिलो बनाउन सहयोग गर्ने उनीहरूको भूमिका चर्चामा रहने गरेको छ । गृह मन्त्रालयले घुमुवा परिचालन नगर्ने निर्णय गरिसके पनि मधेश प्रदेशमा अझै पनि ‘घुमुवा आतंक’ कायमै रहेको बताइन्छ ।
मधेश प्रहरी कार्यालय जनकपुरका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार पछिल्लो समय एक सय भन्दा बढी प्रहरीमाथि कारबाही गरिएको छ । उनीहरूलाई जिम्मेवारी खोस्ने, निलम्बन गर्ने र सरुवा गर्ने जस्ता कदम उठाइएको छ ।