काठमाडौं : युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।
२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसंख्या निकाल्न आग्रह गरिएको बताए ।
बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।
परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानुनी रुपमा भने १६ देखि ४० वर्ष हुने बताए । “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,” उनले भने ।
प्रत्येक पाँच/पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० वर्षपछि नीति संशोधन गरिएको हो ।