रौतहट : नेपाल र भारतको सीमा क्षेत्रमा तस्करी बढ्दो छ । तस्करी एकल वा समूहगत रूपमा नभएर संगठित रूपमै मौलाउँदो रहेको विभिन्न घटनाले देखाउँछ ।
संगठित तस्करी बढेको सूचनाप्रति सरकारको समेत ध्यान गएको पाइन्छ । सरकारी अध्ययनले नै संगठित तस्करीमा सुरक्षाकर्मीको समेत संलग्नता रहेको पाइएपछि धमाधम कारबाहीमा पर्न थालेका छन् । रौतहटमा मात्रै १७ जना सुरक्षाकर्मी कारबाहीमा परेका छन् भने प्रहरी नायब उपरीक्षकमाथि हेडक्वार्टरमै अनुसन्धानसमेत भएको छ ।
संगठित तस्करी आशंका भएको पछिल्लो घटना हो– सशस्त्र प्रहरीको हेडक्वार्टरमा सुराकीका रूपमा पुगेको भिडियो र फोटोमा देखिएको चिनीको बोरा । सो भिडियो र फोटोमा सात सयको हाराहारीमा चिनीका बोरा देखिएका छन् । यस घटनाले प्रहरीसहितका राज्यका विभिन्न निकायले गर्ने अनुसन्धान र सीमा क्षेत्रको निगरानी संयन्त्र र नीतिमाथि नै आशंका उत्पन्न भएको छ ।
भारतबाट अवैध रूपमा चिनीलगायतका सामग्री भित्र्याइएको सूचनाका प्रहरीलाई प्राप्त भयो । सोही सूचनाका आधारमा गत साउन ३० गते सशस्त्र प्रहरीले गरुडा नगरपालिकाको शिव नगरमा रहेको एक घरमा छापा मारेको थियो । सो घरमा छापा मार्दा भारतबाट अवैध ढंगले ल्याई राखेको अवस्थामा १ सय ६ बोरा चिनी, ९ बोरा सिमेन्ट, १० बोरा रासायनिक मल, १० बोरा सरफलगायतका ४ लाख २० हजार ३ सयबराबरको समान बरामद गरी भन्सारसमक्ष बुझाएको प्रहरी कार्यालयले जनाएको छ ।
तर, सशस्त्र प्रहरीको हेडक्वार्टरमा सुराकीका रूपमा पुगेको भिडियो र फोटोमा भने ६ सयदेखि ७ सयको हाराहारीमा चिनीका बोरा देखिएका छन् ।
प्रहरीले छापा मारेर भन्सार बुझाइएको परिमाण र सुराकीमा देखाइएको परिमाण नमिल्दा प्रहरी नायब उपरीक्षक अमर लामासहित १७ जनामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यस घटनाले सशस्त्र प्रहरी नै रौतहटमा संगठित तस्करी मौलाएको देखिन्छ ।
सशस्त्र प्रहरी २ नम्बर बाहिनी कार्यालय बर्दिवासबाट सुरु भएको कारबाही प्रक्रिया क्रममा डिएसपी लामालाई हेडक्वार्टर तानिएको छ । बाहिनीमा करिब तीन दिनसम्म अनुसन्धान चलेको थियो । अनुसन्धानका लागि बाहिनीमा बोलाइएका बाँकी १७ सशस्त्र प्रहरी कर्मचारीलाई फिर्ता पठाइएको र घटनामा दुधियाभारका प्रहरी निरीक्षक लागेजुलाई नसिहत कारबाही गरिएको स्रोतबाट बुझिएको छ । यसै प्रकरणमा ११ नम्बर गण हेडक्वार्टर रौतहटका इन्स्पेक्टर गणेशकुमार बोहरा, इन्स्पेक्टर दधिराम पौडेललाई समेत ध्यानाकर्षण गराइएको छ ।