२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

shivam cement
कमल कुमाल
२०८२ असार २९ गते ११:५५
कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट : कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 'स्थानीय स्रोतको उपभोक्त, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता' भन्ने मूल नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका सम्पूर्ण १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको सभाध्यक्षतामा सञ्चालन गरिएको सो घोषणा कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख भीष्म पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा बोगटी, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषण, महावै गाउँपालिकाका अध्यक्ष खेम सिंह, खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाही, पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम, शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही, नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट, ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मीलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

घोषणा कार्यक्रममा बोल्दै खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले पूर्ण खोप सुनिश्चितता निर्देशिकामा उल्लेखित सबै मापदण्ड पूरा भएपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए ।

साथै प्रतिनिधि सभा सदस्य शाहीले जनस्वास्थ्यको क्षेत्रमा कालीकोट जिल्लाले यो उपलब्धि प्राप्त गर्नु गौरवको विषय भएको भन्दै अझै स्वास्थ्य क्षेत्रमा प्रतिबद्ध भएर अगाडि बढ्न सम्पूर्णलाई आग्रह गरे । 

स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्म पोखरेलले खोपको पहुँच, सेवा प्रभावकारिता र अभिलेख व्यवस्थापन जस्ता मापदण्डअनुसारका सबै सूचकहरु पूरा गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको बताए । 

कार्यक्रममा पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुँदा सञ्चार क्षेत्रलाई प्राथमिकता दिएर पत्रकारको बीमा गराउनुका साथै लोकल्याणकारी विज्ञापन दिएको स्मरण गरे ।

कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न पालिकाका स्वास्थ्य शाखालाई सम्मान गर्नुका साथै जिल्लाभर उत्कृष्ट  स्वास्थ्यकर्मीमा विरेन्द्र संज्याल र उत्कृष्ट  कर्मचारी भद्र सेजुवालसहितका कर्मचारीहरुलाई सम्मान गरिएको थियो  ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise