काठमाडौं : ‘उत्साह र समर्पणको पहिलो वर्ष’ भन्ने मूल नाराका साथ यूट्युब पत्रकारिता क्षेत्रमा सक्रिय गिद्धे प्रेसले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रेसले पहिलो पटक ‘गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार २०८२’ साहित्यकार श्याम प्रधान र ‘गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार’ विपी कोइरालालाई प्रदान गरेको छ ।
नगद राशीसहितका यी पुरस्कार प्रेसले आफ्नो पहलमा स्थापना गरेको हो । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले सत्यमोहनको योगदान र ललितपुर नगरले उहाँको सम्मानमा गरेको कामकाबारे चर्चा गर्दै यस्ता अभियानले सत्यमोहन जोशीको योगदान जीवन्त हुने र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुने बताए ।
उनले नेपाली यूट्युब पत्रकारितामा गिद्धे प्रेसले परिपक्व पत्रकारिता गरिरहेको बताउँदै जीवनमा पहिलो पटक अन्तरवार्तामा गिद्धे प्रेससँग धेरै अन्तरंग भएर खुलेको समेत बताए ।
कार्यक्रममा डा.तुलसी भट्टराईले साहित्यमा सत्यमोहन जोशीको योगदानलाई चीरकालसम्म सम्झाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै पुरस्कृत प्रधान यस्ता पुरस्कारको हक राख्न सक्ने प्रतिभा भएको बताए ।
यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई सँगैसँगै जोडेर गिद्धे प्रेसले गरेको काम उदाहरणीय भएको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नामबाट पुरस्कार स्थापना गरेको सुनेर आश्चर्यमा परेको बताउँदै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए ।
पुरस्कृत प्रधानले यसरी यति ठूलो नामसँग जोडिएको पुरस्कार आफुले प्राप्त गरुँला भन्ने कल्पना नगरेको बताउँदै पुरस्कारले साहित्य सेवामा सक्रिय भएर काम गर्न अझ हौसला मिलेको बताए ।
यस्तै कार्यक्रममा गिद्धे प्रेसका सम्पादक एवं संचालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिताका क्षेत्रमा यसरी पुरस्कार स्थापना गर्दा संस्था अझ बलियो हुने र कामको क्षेत्र फराकिलो हुने बताए । उनले यी पुरस्कारहरूलाई स्थागत बनाउने प्रण समेत गरे ।
बेलवासेले भ्यूज र पैसाका लागि मात्रै गिद्धे प्रेसले काम नगरेको बताउँदै आफुहरूले प्रशारण गरेका हरेक सामग्री अर्काइभमा सुरक्षित गरेको बताए । पत्रकारितामा पैसा भन्दा पनि भावनाले काम गर्न प्रेरणा दिने उनको भनाइ थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई कवि प्रधुम्न जोशीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन कवि युवराज शर्माले गरेका थिए ।