२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

‘किसानलाई प्रविधिसँग जोड्ने हो भने कृषिमा आकर्षण बढ्छ’

मध्यान्ह
२०८२ जेठ ११ गते १२:१३
‘किसानलाई प्रविधिसँग जोड्ने हो भने कृषिमा आकर्षण बढ्छ’

कृषि क्षेत्रको विस्तारको लागि बजार र प्रविधिको आवश्यकता बढ्दो छ । ग्रामिण कृषि अर्थतन्त्रलाई माथि उठाउन किसानको बजारसम्म सिधै पहुँच गराउने माध्यम प्रविधि बन्न सक्छ । सूचना तथा प्रविधि क्षेत्रमा नेपालमा भइरहेको तीव्र विकास अब कृषि क्षेत्रतर्फ  केन्द्रित गर्न सक्ने हो भने कृषिबाट पलायन भइरहेको जनशक्तिलाई रोक्न सकिन्छ । प्रस्तुत छ, नेपालको कृषि, बजार र प्रविधिलाई जोड्ने काम गरेको कनेक्ट किसानका निर्देशक राजन दाहालसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

नेपालको कृषि क्षेत्रलाई बजारसँग जोड्न प्रविधिको आवश्यकता कति देख्नुहुन्छ ? 

नेपालको कृषि क्षेत्रमा विकासको अवरोध नै बजारको व्यवस्थापन नहुँदा भएको हो । कृषिलाई यहाँ प्रमुख पेशाकै रुपमा लिइन्छ तर, कृषिबाट लाभ लिएकाहरू अथवा धनी भएका व्यक्ति निकै नै कम छन् । त्यसैले कृषि क्षेत्रकै विकासमा समस्या देखिएको छ । 

कृषिजन्य उत्पादन गर्ने भन्दा बेच्नेलाई धेरै फाइदा छ । माटोमा काम गर्ने व्यक्तिको जीवनस्तरमा सुधार नआउनुको मुख्य कारण कृषक र बजारबीचको दुरी निकै टाढा भएर हो । तर, कृषि क्षेत्रलाई छिटो माथि उठाउने हो भने प्रविधिमैत्री कृषकको संख्या बढाउन सक्नुपर्छ । किसानलाई प्रविधिसँग जोड्ने हो भने अहिले देखिएको उत्पादन र बजारबीचको समस्या सामाधान गर्न धेरै समय लाग्दैन ।

नेपाली कृषकलाई प्रविधिसँग जोड्न कति सहज छ ?

अब नेपाली कृषकलाई प्रविधिसँग जोड्न सहज हुँदै गएको छ । अहिले हाम्रो गाँउघरमा सबैको हातमा एन्ड्रोइड मोवाइल र इन्टरनेटको पहुँच  पुगेको छ । गाँउघरमा समाजिक सञ्जाल चलाउन नजान्ने र फोन गर्न नसक्ने घट्दै गएका छन् । यही बेलामा हामीले प्रविधिको सदुपोग गर्दै किसान लक्षित आर्टिफिशल इन्टेलिजेन्स (एआई) प्रविधिबाट कृषकलाई जोडन सकिन्छ । एआईमा देखिएको प्रगति च्याट, अडियो, भिडियो सन्देशमार्फत् किसानसम्म पुर्‍याउन सकिन्छ । 

किसानलाई मल, बिउ, विषादी, उत्पादनको बजारको अवस्था एआई मार्फत मोवाइलबाटै दिन सकिन्छ । यस्तै किसानले मोबाइलबाटै आफ्नो उत्पादन सिधै होलसेलसम्म पुर्‍याउन सक्ने प्रविधिको विकास गर्न सकिन्छ । किसानलाई कृषि उत्पादन र बिक्री सम्बन्धी आइडिया दिने हो भने कृषि क्षेत्रबाट राम्रो प्रतिफल आउन सक्छ र आकर्षण समेत बढ्छ । 

कृषकले अहिले गरिरहेको परम्परागत कृषिलाई आधुनिकीकरणमा सघाउने काम सरकारले गर्न आवश्यक छ । किसानले गरेको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने माध्यम नै एआई प्रविधिलाई बनाउन सकिन्छ । नेपालमा बिस्तारै कृषिमा प्रविधि  भित्रिरहेको छ । अब यसलाई थप बिस्तार गर्न आवश्यक छ । आइटी क्षेत्रलाई कृषिसँग लिंक गर्न सकिन्छ । 

नेपालमा कृषि गर्न लागेको सयौ वर्ष हुँदा समेत कृषि क्षेत्र आत्मनिर्भर हुन नसक्नुको कारण नै कृषिबाट प्रतिफल नआउनु हो । पछिल्लो समय कृषि क्षेत्रबाट भइरहेको जनशक्ति पलायनलाई रोक्नको लागि कृषि र प्रविधिलाई एक सिक्काको दुई पाटाको रूपमा काम गर्न आवश्यक छ । 

हामीले कनेक्ट किसानमार्फत् किसान र बिक्रेतालाई जोड्ने काम गरिरहेका छौं । किसानलाई कसरी आयस्रोत बढाउने भन्ने तर्फ हाम्रो ध्यान हो । कृषकले राम्रो उत्पादन गरे भने बेच्नका लागि प्रविधिले सहयोग गर्ने वातावरण बनाउन आवश्यक छ । 

कृषिमा विकास गर्न प्रविधिको महत्व किन छ ? 

नेपालमा अहिले पनि निर्वाहमुखी कृषि प्रणाली छ । कृषि गर्ने मेहनती व्यक्तिसँग जमिन छैन । जमिन भएका व्यक्ति कृषिमा लगानी गरिरहेका छैनन् । त्यसको मुख्य कारण नै आम्दानीसँग जोडिने गरेको छ । तर, बिस्तारै कृषिमा लगानी विस्तार भएको देखिन्छ । अब कृषिमा काम गर्ने श्रमिक र व्यवसायीलाई जोड्ने काम प्रविधिले गर्न सक्छ । 
अहिले प्रविधिमा एआईको प्रयोग तीव्र गतिमा भइरहेको छ । कृषिमा समेत एआईको प्रयोगलाई प्राथामिकता दिन सक्ने हो भने उत्पादन बढाउन सकिन्छ । 

कनेक्ट किसानले कृषकसँग कसरी काम गर्छ ? 

कनेक्ट किसान किसानकै लागि तयार गरिएको अनलाइन प्लेट फर्म र एप हो । किसानलाई एपमार्फत् बजार, बिउविजनदेखि अनुदान लिनसक्नेसम्मको जानकारी र सहजीकरण गर्ने काम भइरहेको छ । 

हामीले अहिले ६ वटा स्थानीय तहसँग आवद्ध भएर काम गरिरहेका छौँ । १० हजार भन्दा धेरै कृषक कनेक्ट किसानमा जोडिनु भएको छ । यसले बेच्ने र किन्ने एकै स्थानमा अटाउने प्लेट फर्मको रुपमा काम गरिहरेको छ । यसमा एक सय ५० भन्दा बढी होलसेलर व्यवसायी समेत जोडिनुभएको छ । 

नेपालमा अझै पनि किसानहरू यो वा त्यो बहानामा उत्पादनको उचित मुल्य पाइरहेका छैनन् । प्रविधिको प्रयोगलाई सहज बनाउने हो भने कृषक, बजार, उपभोक्ता कसैलाई मार पर्दैन । नेपालको किसानको हातमा मार्केट नहुँदा अहिले समस्या भएको प्रविधिमार्फत् कृषक र बजारलाई जोड्ने हो भने कृषि क्षेत्रमा आकर्षण बढ्छ । किन्ने र बेच्ने दुवैले रियल टाइममा कारोबार गर्ने सकिन्छ । 

किसानलाई कसरी प्रविधिसँग जोड्नका लागि कनेक्ट किसानले काम गरेको छ । कनेक्ट किसानले किसानलाई बजारसम्म जोड्ने, उत्पादनको चरणदेखि बिक्री गर्ने समयसम्म रोग, उपचार पद्दति, मौसमको अवस्था, कृषि उपकरणदेखि अनुदानको अवस्थाको विषयमा समेत जानकारी दिने काम गरेको छ ।
 

ADV

सम्बन्धित खबर