दोहा कतार : गैरआवासीय नेपाली संघ आइसीसीको विवादको असर एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेलामा पनि प्रत्येक्ष परेको छ । २०२३–२०२५ कार्यकालको तेस्रो तथा अन्तिम परिषद् भेला शुक्रवार कतारको होलीडे भिल्लाको सभा हलमा होहल्ला कानेखुसीबीच एकाएक माइन्यूटको निर्णय सुनाउँदै एक महिनासम्मका लागि स्थगित गर्दै सकिएको हो ।
बिहान साढे १२ बजेका लागि बोलाइएको परिषद् भेला दिउँसो सवा तीन बजेसम्म होहल्ला, कानेखुसी, आरोप प्रत्यारोप र बैठकमा सीमित भयो । एनसीसी कतारका पदाधिकारीहरूले हलको कुनामा कार्यसमितिको पूर्ण बैठक बोलाएका थियो । बैठकले विशेषगरी केन्द्रमा रहेका दुई वटा आइसीसी मध्ये कुन प्रणालीमा टेकेर परिषद् सदस्यता खुल्ला गर्ने र एनसीसी कतार अगाडि बढ्ने भन्ने अन्यौलता चिर्ने प्रयास स्वरूप निर्णय गरेको र उक्त निर्णय पोडियममार्फत पार्षद्हरुलाई जानकारी दिने बताइयो ।
बैठकले गरेको निर्णय पढ्नु पूर्व एनसीसी कतारका महासचिव रबिन मगरले भेलाको औपचारिक सुरुवातै नगरी स्टेजमा समाजका अगुवा, एनसीसी कतारका भूतपूर्व अध्यक्षदेखि विभिन्न ओहोदाका पदाधिकारी, एनआरएनए अभियन्ता लगायतका करिब एक दर्जन बढीलाई स्टेजमा आसन ग्रहण गराए । आसन ग्रहण गरेकाले निकै असहज महसुस गरे भने कतिपय जुरुक्क उठेर हिँड्न खोज्दा पनि आयोजकले बस्नलाई कर नै गरेर राखे ।
हलमा उपस्थित केही परिषद् हिँडी सकेका थिए भने केही कानेखुसी गर्दै स्टेजतिर ध्यान दिएर के हुने हो भनी चाख पूर्वक हेरेर प्रतीक्षा गरिरहेका थिए ।
कानेखुसी र अन्योलका बीचमा महासचिव मगर भने, ‘आइसीसीमा पुनः एकता नभएको अवस्थामा एनसीसी कतार कुनै पक्षसँग संस्थागत एमओयू नगर्ने भन्ने निर्णयको मर्मलाई आधार मान्दै शुक्रबार गर्न लागिएको परिषद् भेला कार्यक्रममा उपस्थित एनआरएनएका अग्रज अभियन्ता आइसीसी पदाधिकारी सदस्यहरू पूर्वअध्यक्षहरु, समाजका आमबुद्धिजीवीहरूको साझा सहमतिमा नेपाली समाजको हित तथा एकताका लागि थप छलफल आवश्यक भएकोले एनसीसी कतारको विद्यानको परिच्छेद ६ को दफा १३.३ अनुसार पुनः अर्को मिति तय नहुने समय सम्मका लागि कार्यसमितिको विशेष बैठकले स्थगित गर्ने निर्णय गरिएको छ ।’
उनले अगाडि निर्णय सुनाउँदै हाल जारी रहेको सदस्यता आवेदन एमआइएस सिस्टम र एनसीसी कतारले खुल्ला गरेको सदस्यता पनि खुल्ला रहेको र २७ जुन २०२५ सम्ममा परिषद् भेला सम्पन्न गरिने बताए ।
मगरले निर्णय पढेर सुनाए लगत्तै स्टेजमा रहेका केही एनआरएनएका पूर्वअध्यक्ष लगायतले परिषद् सदस्यता बन्द गर्न र अन्तिम परिषद् भेला पश्चात् नै परिषद् सदस्यता खोल्नुपर्ने वैधानिक व्यवस्था भएको विचार राख्दै परिषद् सदस्यता खुल्ला राख्ने निर्णयप्रति असहमति जनाए ।
लगत्तै पोडियममा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले अशान्त माहोललाई सम्हाल्दै अन्तिम परिषद् भेला सम्पन्न नहुँदासम्म सबै सिस्टमका परिषद् सदस्यता शुक्रबारबाटनै बन्द गर्ने घोषणा गरे ।
उनले छिट्टै सर्वदलीय तथा साझा बैठक बसेर नयाँ मार्ग पहिल्याउने प्रतिबद्धता व्यक्त गर्दै आकस्मिक रूपमा भेला स्थगित गर्दा परिषद्मा पर्न गएको असुविधाप्रति एनसीसी कतार र अध्यक्षका हैसियतमा माफी माग्दै परिषद् भेला स्थगित गरिएको बताए ।
शुक्रबारबाट कतारमा रहेका एनसीसीसँगका सरोकारवालाहरूले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप सुरु गरेपनि बद्री केसी समूहको नयाँ एनसीसी जन्मने सम्भावन बढेको एक जानकारले मध्यान्हसँगको कुराकानीमा बताए । कतारको नेपाली समाजमा देखिएको विखण्डनको बाटोलाई रोक्न हालको एनसीसी कतारले केन्द्रमा पूर्ण एकता नहुँदासम्म पर्ख र हेरको बाटो अवलम्बन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।