काठमाडौं : साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ पुस्तक लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौं सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्वन्यायधिश कृष्णबल्लभ काफ्ले, पूर्वन्यायधिश एवं काठमाडौं विश्वविद्यालय कानुन संकायका डिन डा.ऋषिकेश वाग्ले, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.रघुराज काफ्ले, साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले, साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझा र अभियानका कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
सो अवसरमा साँगे क्षेत्र थाँतथलो रहि राष्ट्रिय रुपमा चर्चा कमाउन सफल तथा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउने अग्रज व्यक्तित्व नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्वन्यायधिश कृष्णबल्लभ काफ्ले, पूर्वन्यायधिस एवं काठमाडौं विश्वविद्यालय, कानुन संकायका डिन डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्ले, नेपाल सरकारका पूर्वसहसचिव ई. माधवप्रसाद ओझा, बरिष्ठ अधिवक्ता प्राध्यापक डा.गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई.श्रीभद्र वाग्ले, पूर्व प्रदेश सचिव ई. शंकर पण्डितलाई साँगे गौरव सम्मानबाट विभूषित गरिएको थियो ।
यस्तै अग्रज एवं कृषक केदारनाथ वाग्ले, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषिविज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समीक्षक यज्ञश पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्वउपसचिव दामोदर भण्डारीलाई साँगे गौरव सम्मान र दातामध्ये बालदिवस पण्डितलाई साँगे दर्पण सर्वोकृष्ट दाता सम्मान गरिएको छ भने गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभूषित गरिएको छ ।
उनीहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले माला र प्रमाणपत्रबाट सम्मान गरेका हुन् ।
समारोहमा बोल्दै पूर्वसचिव पुरुषोत्तम ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गर्दै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. रघुराज काफ्लेले साँगे क्षेत्रको समग्र विकासलाई अभिलेखमा उतार्न सफल यो पुस्तक नीति निर्माण र योजना विकासको सन्दर्भमा पनि उपयोगी बन्न सक्ने धारणा राखे ।
तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उद्देश्य राखी खोजमूलक सन्दर्भ सामग्रीका प्राथमिकतामा राखी पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताए ।
कार्यक्रममा समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको बताए ।
अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे सभ्यता मौलिक परिचय भएकाले यसलाई उजागर गर्दै भावी पुस्तालाई यसको गौरव सम्झाउने उद्देश्यले यो पुस्तक तयार गरिएको बताए ।