विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।
मोरङको धनपालथान गाउँपालिकास्थितमा शनिबार आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरेका हुन् ।
मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्र र विभिन्न संघसंस्थाहरूको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।
‘स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गरी आम जनताले सुलभ र सरल रूपमा सेवा पाउने सुनिश्चितता भए मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी र पूर्वाधार विस्तार आवश्यक छ ।’
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा देखिएको कठिनाइबारे बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले केन्द्रलाई २ वर्षका लागि मात्र हस्तान्तरण गरेकाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएको बताए ।
उनले कि त प्रदेश सरकारले नै केन्द्रको जिम्मेवारी लिनुपर्ने (जसमा संघीय सरकारले सहयोग गर्ने) वा पूर्ण रूपमा गंगालाललाई हस्तान्तरण गर्नुपर्ने विकल्प अघि सारे ।
साथै, मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा फराकिलो पारेर सबै प्रकारका स्वास्थ्य उपचारलाई यसभित्र समेट्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।
गणेशमान फाउण्डेशन र लायन्स क्लब अफ विराटनगरद्वारा शिविर आयोजना भएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेको आयोजकले जनाएको छ ।