खोटाङ : खोटाङको सावा खोलामा पक्की पुल निर्माण भएको छ । खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानमति घाटमा पक्की पुल निर्माण गरि शनिबारदेखि संचालनमा आइको छ । यो पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन् ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको शसर्त अनुदानमा सावाखोलामा ४१.४० लम्बाइ र ८.४० मिटर चौडाइको पक्की पुल निर्माण भएको हो । पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार गरे ।
मन्त्री राईले सुनकोसीको फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि खोटाङवासिको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको ३१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेर निर्माण कार्य थालिएको बताए ।
खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी सावाखोलामा पक्की पुल निर्माण भएसँगै जिल्लाको खोटेहाङ, साकेला, दिप्रुङचुईचुम्माका बासिन्दालाई बेलटार हुँदै तराई झर्न र जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका वासिन्दालाई सदरमुकाम दिक्तेल र ईलाका प्रशासन कार्यालय खोटाङबजारसम्म आवतजावत गर्न सहज भएको बताए ।
११ वैशाख २०८० मा सम्झौता गरी निर्माण सुरु भएको पक्की पुलको निर्माण अवधि २ वर्षको थियो । निर्माण कम्पनी सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले समयमै पुल निर्माणको काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । पुल निर्माण गरे वापत प्रदेश सरकारले निर्माण कम्पनीलाई ८ करोड २१ लाख ७२ हजार ८ सय ९४ रुपैयाँ भुक्तानी गरेको छ ।