२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

विश्व १८औं गभर्नर, टर्‍यो सत्ता संकट

छबि सापकोटा
२०८२ जेठ ७ गते ०६:४५
विश्व १८औं गभर्नर, टर्‍यो सत्ता संकट

काठमाडौं : नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । डेढ महिनादेखि रिक्त रहेको राष्ट्र बैंकको नेतृत्व ५ वर्ष पौडेलले गर्ने छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोकत्वको सिफारिस समितिले पौडेललाई पहिलो नम्बरमा छनोट गरेको थियो । समितिले पौडेलसहित कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच व्यक्तिको बिषयमा सहमति नहुँदा नियुक्ति प्रक्रिया नै लम्बिएको थियो । गभर्नर काँग्रेसले नै पाउने निश्चित भए पनि व्यक्ति छनोटको विषयमा द्वन्द्व देखिएको थियो ।

कांग्रेसले सुरुमा गभर्नरका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि सारेको थियो तर गभर्नरकै दौडमा रहेकी डेपुटी गभर्नर ढुंगानाले भट्टको राजीनामा  स्वीकृत गर्न आनाकानी गरेपछि भट्टको स्थानमा पौडलेलाई अघि सारिएको थियो ।

कांग्रेसले सिफारिस समितिको सदस्यबाट राजीनामा गराएर पौडेललाई गभर्नर बनाउने निर्णय गरेको थियो । पौडेललाई अघि सारे पनि प्रधानमन्त्री ओलीले गभर्नर छनोटमा अग्रसरता नदेखाएको भन्दै सत्ता गठबन्धनमै खटपट सुरु हुन थालेको थियो । पौडेललाई गभर्नर नियुुक्त गरेसँगै सत्ता गठबन्धनमा देखिएको तिक्तता हटेको विश्लेषकहरू बताउँछन् ।

गभर्नर छान्नका लागि सुरुमा सिफारिस समिति सदस्यको जिम्मा पाएका पौडेल अन्तिममा आफैं राष्ट्र बैंकको गभर्नर बनेका हुन् । २४ चैत २०८१ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा भएसँगै गभर्नर रिक्त थियो । 

चुनौतीका चाङ

लामो समयको रस्साकस्सीपछि राष्ट्र बैंकका गभर्नर नियुक्त भएका पौडेलले अर्थतन्त्र सुधारका लागि सही नीतिगत निर्णय गर्नुपर्ने छ । बाह्य अर्थतन्त्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्र सुस्त छ । बैंकहरूको खराब कर्जा बढिरहेको छ । बैंकमा पैसा थुप्रिरहेको छ भने कर्जा प्रवाह बढ्न सकेको छैन । 

कोरोनापछि देशको अर्थतन्त्र मन्दीबाट माथि उठ्न सकेको छैन । उद्योगी, व्यवसायीले आमनागरिकमा समेत उत्साह ल्याउने मौद्रिक नीतिमा काम गर्नुपर्ने छ ।

यस्तै, ३ महिनाअघि ९ फागुनमा नेपाल दोस्रो पटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ । सम्पत्ति शुद्धीकरणलाई हेरेर नेपाल ग्रे लिस्टमा परेको हो । अबको २ वर्षभित्र ग्रे लिस्टबाट बाहिर नल्याउने हो नेपाल ब्ल्याक लिस्टमा पर्ने छ । त्यो अर्थतन्त्रका लागि घातक हुने छ । 

मंगलबार नै बैक तथा वित्तीय संस्थाको सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशत बढेको तथ्यांक राष्ट्र बैकले सार्वजनिक गरेको छ । सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या सन् २०२३ को तुलनामा ४९ प्रतिशत बढेको हो ।

सन् २०२३ मा ६ हजार २५५ शंंकास्पद कारोबार रहेकामा सन् २०२४ मा ९ हजार ३०४ पुगेको छ । यसले सम्पत्ति शुद्धीकरणको मुद्दालाई थप चुनौती थपिदिएको छ । तर, अर्थतन्त्रको विज्ञका रूपमा लामो समयदेखि विभिन्न निकायमा काम गरेका पौडलेले राजनीतिक आस्थाका आधारमा भन्दा देशको आवश्यकताका आधारमा राष्ट्र बैंकको नेतृत्व गर्नुपर्ने छ ।

गभर्नर पौडेलको योग्यता 

डा. विश्वनाथ पौडेल अब्बल अर्थशास्त्रीका रूपमा चिनिन्छन् । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सरकारी निकायमा महत्वपूर्ण भूमिकामा रहेका पौडेललाई नेपाल अर्थतन्त्र, नीति निर्माण र विकास योजनाका जानकारका रूपमा लिइन्छ ।

१२ साउन २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र विषयमा उनको विज्ञता छ ।

यस्तै, डा. प्रकाशशरण महत अर्थमन्त्री हँुदा पौडेलले वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा अर्थ मन्त्रालयमा समेत काम गरिसकेका छन् । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका छन् भने सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा संसाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापकसमेत छन् उनी । अन्तर्राष्ट्रिय श्रम संगठनमा आर्थिक सल्लाहकारका रूपमा काम गरिहेका छन् । डा. पौडेलसँग सानिमा बैंकको संचालक समिति सदस्य, विश्व बैंकका लागि अल्पकालीन परामर्शदाता, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारलगायत काम गरेको अनुभव छ ।

२०७९ सालको आमनिर्वाचनमा कांग्रसेले चितवन क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारसमेत बनाएको थियो । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग ९ हजार मतले पराजित भएका थिए ।

१४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल निर्वाचनमा कांग्रेसले टिकट लिएपछि राजीनामा दिएर उम्मेदवार भएका थिए ।

ADV

सम्बन्धित खबर