२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

मलेसियामा सुरक्षा गार्डको वृद्वि भएको तलबबारे अनुगमन

मध्यान्ह
२०८२ वैशाख २१ गते ०६:५७
मलेसियामा सुरक्षा गार्डको वृद्वि भएको तलबबारे अनुगमन

काठमाडौं : मलेसियामा सुरक्षा गार्डले वृद्वि भएको तलब नपाएपछि अनुगमन सुरु गरिएको छ । यसअघि मलेसियास्थित नेपाली राजदूतावासले सेक्युरिटी गार्डको न्यूनतम तलब कार्यान्वयन नगर्ने कम्पनीको नयाँ मागपत्र प्रमाणीकरण नगरिने बताएको थियो ।

मलेसिया गत फेब्रुअरी पहिलो तारिखदेखि स्वदेशी तथा विदेशी कामदारको तलब त्यसअघिको १ हजार ५०० रिंगेटबाट २०० रिंगेट बढाएर १ हजार ७०० रिंगेट पु¥याएको थियो । 

तर, साढे २ महिना बितिसक्दा पनि बढेको तलब नपाएको सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपाली कामदारको गुनासो रहेको समाचार मध्यान्ह दैनिकले गत हप्ता नै सार्वजनिक गरेको थियो  । 

मलेसियाली मानव संसाधन मन्त्रालय मातहतको निकाय मलेसिया श्रम विभागले  ३५ वटा सेक्युरिटी कम्पनीको निरीक्षण गरेको थियो । बढेको तलब नदिने कम्पनीहरूले नेपाली राजदूतावास तथा मुख्य सेक्युरिटी कम्पनीले बढेको तलब दिनू भनेर लिखित जानकारी दिएको भन्दै १ हजार ५०० रिंगेट नै दिने गरेको अनुगमनमा देखिएको छ । कतिपय कम्पनीले १२ घण्टाको जोडेर २ हजार रिंगेट तलब दिने गरेको श्रम विभागले बताएको  छ ।

नेपाली राजदूतावासले गुनासो समाधानका लागि नयाँ डिमान्ड एटेस्टेसनमा न्यूनतम १ हजार ७०० को पे स्लिप र सेक्युरिटी गार्डको बैंक खातामा तलब जम्मा भएको बैंक ट्रान्सफरको स्लिप अनिवार्य गरिएको बताएको छ । 

मलेसियाले बढेको तलब नदिने रोजगारदाताहरूलाई राष्ट्रिय तलब परामर्श परिषद् ऐन, २०११ (ऐन ७३२) अन्तर्गत जरिमाना गर्ने बताएको छ ।

मार्चसम्म सुरक्षा गार्ड कम्पनीहरूले विभिन्न श्रम कानुन उलंघन गरेका ४५६ वटा उजुरी परेका छन् । मलेसिया सरकारले रोजगारदाताहरूलाई जरिमाना तिर्नुभन्दा कामदारलाई न्यूनतम तलब दिनु नै उचित हुने सुझाव दिएको छ ।
 

ADV

सम्बन्धित खबर