२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

यूएईमा राहदानी र स्वास्थ्य शिविर 

मध्यान्ह
२०८२ वैशाख २१ गते ०६:५६
यूएईमा राहदानी र स्वास्थ्य शिविर 

काठमाडौं : नेपाली दूतावास अबुधावीले संचालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही १७–१८ वैशाखमा उक्त शिविर संचालन गरेको थियो ।

सो शिविरमध्ये शुक्रबार यूएईमा कार्यरत नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । उक्त शिविरमा ३०० बढीले सेवा लिएका थिए । 

नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क रूपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारीरिक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गरेका नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमित रूपमा संचालन गरिएको थियो ।

राजदूतावासले सेवा प्रवाहसँगै यूएईमा कार्यरत नेपालीलाई शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर संचालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली संघ, यूएई तथा नेपाली समाज, यूएईले स्वयंसेवक उपलब्ध गराई सहयोग गरेका थिए ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधँं क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर संचालन गरेर यस किसिमका शिविर संचालन गर्दै आएको छ ।

 

ADV

सम्बन्धित खबर