काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गरे । उनले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गरे । उनले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गरे ।
उनले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको बताए । अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राखे । उनले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उल्लेख गरे ।
उनले भने, ‘सामान्यतया, देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहन्छ । हाम्रो देशमा पनि २०७२ साल संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ । संविधानको कागजमा लेखिएको भएपनि त्यो व्यवहारमा लागू हुनसकेको छैन । व्यवहारमा लागू गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महशुस गरिँदैन । आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।’
अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको पनि बताए । उनले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गरे । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोशिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गरे । उनले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको बताए ।
उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।