काठमाडौं : आईसीसी महिला विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी भने पूजा महतोलाई दिइएको छ ।
प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा आयोजना हुँदैछ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र यूएई छन् । यी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल समूह सी मा परेको छ । नेपालको समूहमा हङकङ र बहराइन छन् ।
नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । नेपाल र हङकङबीचको खेल ९ मेमा हुनेछ । नेपालले १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुनः खेल्नेछ । यस्तै लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले १५ मेमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन् ।
दोस्रो चरणको प्रशिक्षणमा रहेका काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सीता राना मगर, सिमाना केसी र रचना चौधरी भने अन्तिम टिममा पर्न सकेनन् ।