२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

विभाग ३ हप्तादेखि महानिर्देशकविहीन

२०८२ वैशाख १० गते ०६:१०
विभाग ३ हप्तादेखि महानिर्देशकविहीन

काठमाडौं : वैदेशिक रोजगार विभाग करिब ३ सातादेखि महानिर्देशकविहीन भएको छ । विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई चैत २५ गते मन्त्रालय सरुवा गरिएपछि विभाग महानिर्देशकविहीन बनेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव जीवलाल भुसाललाई नयाँ  महानिर्देशकको जिम्मेवारीमा पठाएको छ । मन्त्रालयले तत्कालीन महानिर्देशक खत्रीलाई  मन्त्रालय तानेर भुसाललाई पठाएको भएपनि नयाँ महानिर्देशक भुसाल विभागमा हाजिर भएका छैनन् । हाल विभागको प्रशासनिक कामको नेतृत्व उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले गरिरहेका छन् । 

विभागीय प्रमुखको रूपमा महानिर्देशक प्रमुख पदाधिकारी भएको र महानिर्देशकले गर्ने निर्णय अन्य कर्मचारीले गर्न नपाउने र गर्न नचाहने भएका कारण विभागको आर्थिक कारोबारको संचालन गर्ने/गराउने र आवश्यकताअनुसार अख्तियारी दिने, विभागमा कार्यरत कर्मचारीहरूलाई शाखा वा फाँटमा खटाउने, कर्मचारीहरूको सुपरीवेक्षण एवं पुनरावलोकन गर्ने इजाजत पत्र जारी गर्नेलगायत विभागमा परेका उजुरीहरूमा निर्णय गर्ने काम प्रभावित भएको समाचार स्रोत बताउँछ ।

त्यस्तै विभगको तर्फबाट अन्य निकायहरूसँग गरिने सम्झौताहरू गर्ने र विभागको तर्फबाट नीतिगत सुधार र विभागभन्दा माथिल्लो स्तरबाट हुनुपर्ने निर्णयहरूको निम्ति मन्त्रालयमा लेखी पठाउने जस्ता कामहरू रोकिएको समाचार स्रोतको भनाइ छ ।

विभागमा महानिर्देशक नहुँदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले नीतिगत एवं व्यवहारिक विषयमा समेत छलफल गर्न नपाएको बताइएको छ । गत हप्ता नवनिर्वाचित  संघको नेतृत्वलाई बधाई तथा  शुभकामना प्रदान गर्ने कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महानिर्देशक भण्डारी १–२ दिनमा विभागमा हाजिर हुने बताएका थिए ।

विगतमा नियुक्त हुनासाथ महानिर्देशक सकेसम्म छिटो हाजिर हुने गरेका थिए । महानिर्देशक नभएको भएपनि श्रम स्वीकृतिका काम भने सर्भरमा समस्या देखिएको अवस्थामा बाहेक पहिले जसरी नै भइरहेको बताइएको छ ।

ADV

सम्बन्धित खबर