२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

मञ्चको निष्काशनले मलाई फरक पर्दैन : व्यवसायी पाण्डे

मध्यान्ह
२०८२ वैशाख ९ गते ०८:३५
मञ्चको निष्काशनले मलाई फरक पर्दैन : व्यवसायी पाण्डे

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट निष्काशनमा परेका मञ्चका पूर्व अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले निष्काशनको नाटकले आफूलाई फरक नपर्ने बताएका छन् । मञ्चबाट निष्काशनमा परेका मञ्चका पूर्व अध्यक्ष पाण्डे क्षेत्रीले मध्यान्ह दैनिकसँग टेलिफोनमा कुरा गर्दै मञ्चको कारबाहीले आफूलाई कुनै फरक नपर्ने बताएका हुन् । 

उनले मञ्चबाट व्यवसायीको ठूलो पंक्ति सामुहिक राजीनामा र विद्रोहको तयारीमा रहेको बताए । मञ्चले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत चैत्र २९ गते सम्पन्न कार्यसमितिको निर्वाचनमा मञ्चबाट सिफारिस गरिएका अध्यक्ष लगायतका उम्मेदवारहरूलाई हराउन विपक्षी उम्मेदवारहरूलाई खुला रूपमा देखिनेगरी सहयोग र प्रचारप्रसार गरी मञ्चबाट सिफारिस उम्मेदवारहरूलाई पराजित गराउन प्रमुख भुमिका निर्वाह गरेको देखिएको भन्दै साधारण सदस्यबाट निष्काशन गरेको थियो । 

हाल भ्रमणका क्रममा संयुक्त राज्य अमेरिकाको मिनिसोटा राज्यमा रहेका व्यवसायी पाण्डे क्षेत्रीले मध्याह्न दैनिकमा सोमबार उनको निस्काशनसम्बन्धी समाचारमा प्रतिक्रिया जनाउँदै मञ्च एमाले निकट व्यवसायीभन्दा अराजकहरूको झुण्डमा परिणत भएको दाबी गरे । उनले भने, 'मञ्चमा अब व्यवसायी होइन, दासत्व स्वीकार गर्ने मात्रै रहन्छन् । ईमानदार व्यवसायी म अमेरिकाबाट फर्केपछि सामुहिक राजीनामा गरेर बाहिरिने तयारीमा हुनुहुन्छ । यस्तो अवस्थामा अराजकहरूले मञ्चका अध्यक्षलाई मोहोरा बनाएर मलाई  निष्काशन भनेका छन्, सक्छन् भने मेरो पार्टी सदस्यता खारेज गरेर देखाउन् ।'

मञ्चले पूर्व अध्यक्ष पाण्डे क्षेत्रीमाथि मञ्चबाट सिफारिस गरिएका अध्यक्ष लगायतका उम्मेदवारहरूलमई हराउन विपक्षी उम्मेदवारहरूलाई खुला रूपमा देखिनेगरी सहयोग र प्रचारप्रसार गर्ने काम मञ्चको उद्देश्य, मर्म भावनाका साथै नेकपा एमाले पार्टी संगठन नीतिको बिरूद्वको कार्य गरेको आरोप लगाएको छ ।  

पाण्डेले त्यसको पनि प्रतिवाद गरेका छन् । उनले भने, 'मञ्चले सामाखुसी क्षेत्रमा दुईवटा चुनावी सभा गर्‍यो । तर पूर्व अध्यक्षको हैसियतमा रहेको मलाई जानकारीसमेत दिएन । अहिले पुरानो मितिको पत्र सार्वजनिक गरेर नाटक गरिएको छ । म १३७ व्यवसायी सदस्य रहेको वैदेशिक रोजगार व्यवसायी एकता समितिको अध्यक्ष छु । समितिले यस क्षेत्रबाट एउटामात्र उमेदवार भए सबैले मतदान गरेर जिताउने र एउटा पदमा दुई उम्मेदवार भए विवेक प्रयोग गरेर मतदान गर्ने निर्णय भएअनुसार मञ्चको बैशाख ३ गतेको निर्णयमा भनिएझैं  मैले सिण्डिकेट पक्षधरलाई नभई व्यवसायीको हित गर्ने उम्मेदवारलाई मतदान गरेको हुँ । हरि पाण्डे मञ्चको सदस्य होइन, फ्युचर स्टार म्यानपावर मञ्चको सदस्य हो । हरि पाण्डेलाई कारबाही गरेर केही हुँदैन ।'

पाण्डेले संघको निर्वाचनमा एकता समिति सधैं निर्णायक शक्तिका रूपमा रहने भन्दै आफूलाई कम आँकिए महंगो पर्ने  दाबी गरे । उनले कारबाही आफूलाई नभई प्रगतिशीलका उमेदवार हटाएर नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसंग साँठगाठ गर्नेहरूलाई हुनुपर्ने माग गरे ।

मञ्चले पूर्वअध्यक्ष पाण्डे क्षेत्रीलाई निष्काशन गरेको विषयमा नेकपा एमाले केन्द्रीय कमिटी, नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी, नेपाल उद्योग तथा व्यवसायी महासंघ, नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, नेकपा एमाले तनहुँ जिल्ला कमिटी, नेकपा एमाले वैदेशिक रोजगार विशेष ईलाका कमिटी काठमाडौं, नेकपा एमाले वैदेशिक रोजगार शाखा कमिटी सामाखुसीलाई बोधार्थ पठाएको छ। पाण्डेले भने, 'पार्टीलाई बोधार्थ पठाएको पत्रले मलाई कुनै असर गर्दैन, म जन्मजात एमाले हुँ, लद्दाख, काश्मिरमा भिडेर हुर्केको सिपाही हुँ । गुटबन्दी र अराजकताको विपक्षमा सधै लडिरहने छु ।'

ADV

सम्बन्धित खबर