काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अबदेखि साँझमा लोडसेडिङ हुने बताएका छन् ।
राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको बुधबार जवाफ दिँदै मन्त्री खड्काले अब लोडसेडिङ रोक्न नसकिने बताएका हुन् ।
‘अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने ।
भारतबाट विद्युत आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ ।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे ।
‘त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । उज्यालोको नायक भनेको कुलमान होइन है,’ उनले भने, ‘बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ ।’
कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए । मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे ।
उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे । उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।
‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही अवस्था छ ।’
नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको पनि मन्त्री खड्काले दाबी गरे । उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको बताए ।