२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैंक स्थापना

सुमन महतरा
२०८१ फागुन ९ गते २०:४१
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैंक स्थापना

गुल्मी : गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा  क्लोथ एण्ड  फुड बैंक नेपालद्वारा उक्त कपडा बैंकको स्थापना भएको हो ।

आफ्नो घर, टोल र समाजलाई सफा राखौं, कोही कपडा विहीन नरहुन् भन्ने उद्देश्यलाई आत्मसात् गर्दै पुन्य कार्यमा सहभागी बनौं’ भन्ने मुख्य नाराका साथ क्लोथ एण्ड फुड बैंकले प्रयोगमा नआएका प्रयोगजन्य सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरूलाई निःशुल्क वितरण गर्ने कार्यक्रम आयोजना गरेको हो  । जसअन्तर्गत इस्मा गाउँपालिकामा कपडा बैंकको स्थापना गरिएको क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

उनले परिवर्तन आफैंबाट गर्नुपर्ने, सकारात्मक सोंच राख्नुपर्ने र एकआपसमा सहयोगी भावना राख्नुपर्ने भन्दै क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीले पुनः प्रयोग हुने सामग्री प्रशोधन गरेर प्रयोगमा ल्याउनुपर्ने बताए । उनले अब इस्मा गाउँपालिकामा कोही कपडा विहीन नहुने बताए ।

उनले यस पवित्र कार्यमा सहकार्य गर्ने इस्मा गाउँपालिकालाई धन्यवाद दिए । जिसीले आफैंले अध्ययन गरेको विद्यालयबाट समग्र इस्मा गाउँपालिकामा पुग्ने गरी यस कपडा बैंक शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे । गाउँपालिकाको कार्यालय परिसर आनन्दपुर माध्यमिक विद्यालयबाट उक्त कपडा बैंक मेसिनको औपचारिक उद्घाटन भएको थियो ।

कपडा बैंकको उद्घाटन गर्दै इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले कपडा बैंकको स्थापनाका लागि साथ दिएकोमा जिसीको बाल्यकालको प्रशंसा गर्दै पुण्य अभियानका लागि धन्यवाद दिए । ‘स्थानीयबासी भएकोले आफ्नै भूमिमा यस्तो पवित्र अभियानमार्फत सहयोग भएको छ’, अध्यक्ष खड्काले भने, ‘यस्तो प्रेरणा हामी सबैमा मिल्नुपर्छ ।’ उनले कपडा बैंक स्थापना गर्ने कमल जिसी र कार्यक्रममा सहभागी युवा किसान गोकर्ण नेपालीको प्रशंसा गर्दै गाउँपालिकाका अमुल्य युवा सम्पत्ति भएको बताए ।

क्लोथ एण्ड फुड बैंकले कपडा बैंकमार्फत कपडाहरू कलेक्शन, शर्टिङ्ग, वाशिंग, सेनिटाइजरिङ्ग, प्याकेजिङ र वितरण गर्ने गर्दछ । बैंकले ५ फागुन २०८० मा बुटवलदेखि कपडा बैंकको शुभारम्भ गरेको उक्त संस्थाले हालसम्म एक हजार एक सय भन्दा बढी घरपरिवारलाई निःशुल्क कपडा वितरण गरेको छ । यस कपडा बैंकमा पुराना कपडा हुनेहरूले सौजन्य गर्ने र कपडा नहुनेहरूले त्यसबाट निःशुल्क कपडा प्राप्त गर्न सक्नेछन् ।

ADV

सम्बन्धित खबर