सुर्खेत : वीरेन्द्रनगरमा रत्न राजमार्गअन्तर्गत पर्ने विभिन्न चोकमा रहेका ‘यू टर्न’हरू बन्द गरिएको छ । बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै जोखिमयुक्त ‘यू टर्न’हरू बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र सडक डिभिजन कार्यालय सुर्खेतले सुब्बाकुनादेखि बांगेसिमलसम्मको क्षेत्रमा रहेका ‘यू टर्न’हरू बन्द गरेको हो ।
सडक डिभिजनसँगको सहकार्यमा ट्राफिक प्रहरीसहितको टोलीले ती ‘यू टर्न’हरू बन्द गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।
उनले भने, ‘दुर्घटनाको दर उच्च देखिएको ‘यू टर्न’हरू बन्द गरिएको हो । पछिल्ला वर्षहरूमा ‘यू टर्न’कै कारण मोटरसाइकललगायतका सवारी साधन धेरै दुर्घटनामा परेका छन् ।’
वीरेन्द्रनगरमा ट्राफिक नियमको उल्लंघन, दायाँबायाँ नहेरी सवारी चलाउने, अनियन्त्रित ‘यू टर्न’ गर्ने जस्ता कारणले दुर्घटना बढ्दै आएको छ ।
विशेषगरी अटो रिक्साको संख्या धेरै भएकाले मनपरी ‘यू टर्न’ गर्ने र बीच सडकमा रोक्ने प्रवृत्तिले दुर्घटना झनै बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । पछिल्लो समय ट्राफिक प्रहरीले अटो र अन्य सवारीसाधनमाथि निगरानी कडा बनाएको छ ।