स्पेन : नेपाली जनसम्पर्क समिति स्पेनले हाल स्पेनको दोस्रो ठूलो शहर बार्सिलोनामा नव आगन्तुक नेपालीहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै ४० घण्टाको आधारभूत स्पेनीस भाषाको कक्षा संचालन गरेको छ ।
नव आगन्तुक नेपालीहरूलाई भाषाकै कारणले निकै समस्या परेका कारणले उक्त कक्षा संचालन गरिएको जनसम्पर्क समिति स्पेनका सभापति सन्तोष श्रेष्ठले बताए । उनले भाषाका कारणले नै नेपालीहरूले काम खोज्न असजिलो भएकाले यो काम जन सम्पर्क समितिले गरेको जानकारी दिए ।
भाषा कक्षा बिहीबारदेखि बार्सिलोनामा रहेको गैरआवासीय नेपाली संघको कार्यालयमा सुरु भएको हो । करिब एक सय जनाको हाराहरीमा नेपालीले भाषा कक्षाका लागि नाम दर्ता गरेका छन् ।
कक्षा भौतिक उपस्थितिमा र अनलाइनमार्फत हुनेछ । भौतिक रूपमा साताको चार दिन तथा अनलाइनमा साताको दुई दिन हुने छ । भौतिक कक्षा लिनेको संख्या उल्लेख्य रहेकोले दुई समुहमा विभाजन गरेर सोमबार देखि विहिबारसम्म दैनिक दुई घण्टाको कक्षा संचालन हुनेछ । त्यस्तै हप्ताको मंगलबार र बिहिबार दैनिक दुई घण्टा अनलाईन कक्षा संचालन हुनेछ ।
भौतिक रूपमा हुने कक्षाको शिक्षक स्पेनमा लामो समयदेखि बस्दै आएकी संगिता श्रेष्ठले तथा अनलाईन कक्षा रामकृष्ण पुडासैनीले संचालन गर्नेछन् । पुडासैनी स्पेनिश भाषा सजिलै र चाँडै सिक्न सकिने पुस्तक, "EL ESPAÑOL ( एल एस्पान्योल)" का लेखक पनि हुन् ।
कार्यक्रममा जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष इन्द्र शर्मा, महामन्त्री विनय अधिकारी, उपसभापति शिव उपाध्याय, कार्यक्रम संयोजक यज्ञ प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
निकट भविष्यमा सीपमुलक बारिस्टा, कफि म्यानेजर, वेटर, क्यासियर लगायतका तालिमहरू भाषा कक्षापश्चात सुरु हुनेछ ।