काठमाडौं : नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरूलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौ कोहर्टका सहभागीहरूको स्वागत गरिएको हो ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको हो । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरूले नवीन उद्यममार्फत् प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिविका उपकुलपति प्राडा. केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरूमा जागिर खाने होइन, जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने ।
नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरू क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार दुई सयलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे ।
त्यस अवसरमा फेलोसिप कार्यक्रमका दोस्रो र तेस्रो समूहका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । साथै प्रशिक्षकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा फेलोहरूले आफूले उत्पादन गरेका विभिन्न सामानहरूको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टलहरू राखिएका थिए ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत् हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातवटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।