२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

सामाजिक सञ्जाल विधयेकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने

मध्यान्ह
२०८१ माघ २४ गते २१:३७
सामाजिक सञ्जाल विधयेकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने

काठमाडौं : सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ । 

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाइन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनैपर्ने निष्कर्ष निकालेको छ । 

अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै बिक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहरछ । विधयेकका कतिपय व्यवस्थाले आफूहरुको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दाबी छ । संघले नागरिक अधिकार नै कुण्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरु पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ । 

संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरुलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ । 

संघले यसअघि हिजो नै संघको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल विधेयककै बारेमा प्रमुख दलका सांसदहरु र सरोकारवालाहरुलाई बोलाएर बृहत् छलफल कार्यक्रम आयोजना गरेको थियो ।  

कार्यक्रममा सहभागी कांग्रेसका सांसद रामहरि खतिवडा, एमालेका सांसद योगेश भट्टराई, रास्वपाका सांसद शिशिर खनाल, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संघको सुझाव अनुसार विधयेकमा संशोधन गराउन आफुहरुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

त्यसैगरी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि विधयेकमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले संशोधनका लागि सरकार तथा दलहरु तयार नभएमा आन्दोलन गर्ने चेतावनी दिए । 

उनीहरुले अनलाइन टिभीकर्मीहरुलाई जिम्मेवार र व्यवस्थीत गराउन संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना समेत दिएका थिए । वि.स २०७६ साल माघ २४ गते नेपालमै पहिलो पटक भण्डारीकै नेतृत्वमा युट्युवरहरुको राष्ट्रिय भेला आयोजना गरी अनलाइन टिभी पत्रकार संघको स्थापना भएको थियो । 

ADV

सम्बन्धित खबर