२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

व्यवसायी अधिकारीद्वारा अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना

किराञ्चोक कार्कीडाँडा मा.वि.ले मनायो शताब्दी महोत्सव

मध्यान्ह
२०८१ माघ २४ गते २१:०९
व्यवसायी अधिकारीद्वारा अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना

धादिङ : धादिङको किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालयले शताब्दी महोत्सव मनाएको छ । गल्छी गाउँपालिका–४ कार्कीडाँडामा रहेको सो विद्यालयले आफ्नो स्थापनाको १०० वर्ष पुगेको अवसरमा माघ १९ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरी शताब्दी महोत्सव मनाएको हो ।

विद्यालयको शताब्दी महोत्सवको अवसर पारेर वैदेशिक रोजगार व्यवसायी एयर किंग्स प्लेसमेट प्रा.लि.का संचालक जयराम अधिकारीले अनाथ बालबालिकाको शिक्षका लागि अक्षयकोष स्थापना गरेका छन् ।

आफैंले अध्ययन गरेको कार्कीडाँडा माध्यमिक विद्यालयमा युवा व्यवसायी तथा समाजसेवी अधिकारीले आफ्नो स्वर्गीय बुबाआमा यज्ञनाथ अधिकारी र लीलादेवी अधिकारीको नाममा २ लाख ४१ हजार ५०० रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । उक्त अक्षयकोषले अनाथ बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा व्यवसायी अधिकारी विश्वस्त छन् ।

व्यवसायी अधिकारीले शताब्दी महोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा व्यवसायी अधिकारीलाई खादा लगाएर सम्मानसमेत गरिएको थियो ।

वि.सं. १९८२ माघ २१ गते स्थापना भएको सो विद्यालय गल्छी गाउँपालिकाको मात्रै नभइ जिल्लाकै पुरानो विद्यालयको रुपमा प्रख्यात छ । विद्यालयले शताब्दी महोत्सवको अवसरमा गाउँपालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद प्रतियोगिता, सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।

साथै सो अवसरमा पूर्वशिक्षक, विद्यार्थी तथा विद्यालयका संस्थापकहरूलाई सम्मान पनि गरिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर