गुलरिया : बर्दियाको मधुवन नगरपालिकामा भइरहेको तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, सांस्कृतिक एवम् पर्यटन महोत्सवमा आँखाका बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ एवम् बर्दिया आँखा अस्पताल मधुवन बर्दियाको महोत्सव भित्र स्टलमा राखिएको आँखा जाँच कार्यक्रम मार्फत आँखाका बिरामीहरूलाई आवश्यक औषधी र चस्मा निःशुल्क रूपमा उपलब्ध गराइएको छ ।
महोत्सव उद्घाटनसँगै सुरु भएको आँखा जाँच कार्यक्रममा ९ दिनको अवधिमा २ सय ५८ जनाले आँखा जाँच गराएको बर्दिया आँखा अस्पताल मधुवनकी नेत्र सहायक श्रृजना चौधरीले जानकारी दिइन् । ‘हामीले आवश्यकता पर्ने बिरामीहरूलाई निःशुल्क औषधी पनि उपलब्ध गराएका छौं । नाम दर्ताको लागि २५ रुपैयाँ मात्र शुल्क तिर्नु पर्छ । सोही अवधिमा आवश्यक पर्ने बिरामीलाई नजिकको लेखपढ गर्न मिल्ने १ सय ३१ जनालाई पावर सम्बन्धी चस्मा पनि निःशुल्क वितरण गरिएको छ,’ उनले भनिन् ।
महोत्सव स्टलमा आँखा जाँचका क्रममा छनोट भएका मोतिविन्दुका बिरामीहरूलाई बर्दिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ । चौधरीले भनिन्, ‘आँखा जाँच गर्न आउने ५० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई महोत्सवस्थल भित्र प्रवेश शुल्कको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था समेत अस्पतालले प्रबन्ध गरेको छ ।’ मधुवनमा अवस्थित आँखा अस्पतालले सो क्षेत्रमा लामो समयदेखि आँखा उपचारमा उल्लेख्य भूमिका निर्वाह गर्र्दै आएको छ ।
अस्पतालले महोत्सव बाहेकका दिनहरूमा पनि निःशुल्क आँखा उपचारसँगै निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दै आएको छ।