काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् ।
दलालको प्रलोभनमा परी युक्रेन पुगेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उद्धार गरिएको हो । संघका अध्यक्ष डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा उद्धार गरेको हो ।
उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने छन् ।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत ३ महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए । उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए ।
उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डा. केसीले बताए ।