काठमाडौंः काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालभित्र सुशासन कायम गर्न नसके शैक्षिक गुणस्तर खस्किन सक्ने बताएका छन् । बिहीबार शिक्षा पत्रकार समाजले आयोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपकुलपति वाग्लेले संस्थागत व्यवस्थापनमा चुनाैती देखा परे पनि त्यसलाई सामना गरेर पारदर्शी ढङ्गले सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले हाल हरेक क्षेत्रमा विभिन्न खालका समस्या देखा परिरहँदा काठमाडौं विश्वविद्यलयभित्र पनि समस्या देखा पर्नु स्वभाविक रहेको बताए । उनले काठमाडौं मात्र नभइ नेपालका अधिकांश विश्वविद्यालय र विद्यालयमा व्यावहारिक शिक्षाको कमिका कारण नेपालमा अध्ययन गरेर यही बसेर केही गरु भन्ने भावना विद्यार्थीहरुमा हराइरहेको उल्लेख गरे । उनले विद्यार्थीकाे चाहानाअनुरुपका संकायमा अध्यापन गराइ समुदायलाई पनि साथमा लिएर अघि बढ्न सके विद्यार्थीको आकर्षण बढ्नेमा जाेड दिए ।
यस्तै शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले काठमाडौं विश्वविद्यालय स्थापना कालदेखि हालसम्म एउटै रणनीतिमा चल्दै आइरहेकाले नयाँ पुस्ताका विद्यार्थीलाई आकर्षण गर्न नसकिरहेको भन्दै आपत्ति जनाए । उनले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप हुनु गलत भएकाे बताउँदै उपकुलपति छनोटको मूल्याङ्कन गर्ने कार्यविधिमा अनुसन्धानलाई बढी अंकभार दिने व्यवस्था संशोधन गरेकाेप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले समयअनुसार सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिनु आवश्यक रहेको औंल्याए । योसँगै उनले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेर विश्वविद्यालयहरुले अध्यापन गराउनुपर्नेमा जोड दिए ।