पर्साः राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित ८ वटा मुद्दा दायर गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदावी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।
‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावद्ध मुद्दा मागदावी रकमसहित ८ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’ उनले भने, ‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’
कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।
कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख सङ्कलन गरेको थियो । कार्यालयले चालु आवमा विदेशी विनियम मुद्दा संख्या ६ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या छ नै रहेको थियो ।