काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि व्यवसायीहरूको उम्मेदवार टुंगो लगाउने प्रयास जारी रहँदा बजारमा अनेक प्रकारका दाबी र चर्चा सुरु भएका छन् । संघको निर्वाचनमा विगतदेखि नै नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्वतन्त्र व्यवसायीको मत आफूतर्फ तान्न अनेक चुनावी प्रपञ्च र दाउपेच गर्ने गरिएको छ ।
तर गत असार १७ गते दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति भइ संयुक्त सरकार बनेपछि हाल संघको निर्वाचनमा पनि सोहीअनुसार आलोपालो र पद बाँटफाँटको सहमतिमा चुनाव गर्नु उचित हुने विषयमा दुवै दलको माथिल्लो तहमा छलफल भइरहेको स्रोतले बताएको छ । दुई दलको संयुक्त सरकार गठन गर्दा पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको थियो । संघमा पनि १ बर्ष मञ्च र १ वर्ष एशोसिएसनले नेतृत्व गर्ने वा दुई वर्षका लागि एशोसिएसनले अध्यक्ष र मञ्चले महासचिव लिएर उपाध्यक्षसहित अन्यमा मिलाउने विषयमा छलफल भएको बताइन्छ ।
पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली दुवै दलबीच सैद्धान्तिक तथा व्यवहारिक एकता रहेको देखाउने प्रयासमा रहेको देखिएको छ । सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेस सभापति देउवाको कुर्सी एकै हारमा राखेर संसद अधिवेशन सुरु हुन लाग्दा २ दलबीचका एकता प्रगाढ रहेको र सत्ता सहयात्रा बिना अवरोध २०८४ सम्म जाने सन्देश दिइएको छ । यस्तो अवस्थामा हुन लागेको संघको चुनाव २ दलबीच वैमनस्य उत्पन्न गर्ने आधार बन्न नहुने सोच रहेको समाचार स्रोतको दाबी छ ।
संघमा व्यवसायीको नेतृत्व स्थापित गर्न सहमतिको फर्मुला फलदायी बन्ने कतिपयको आंकलन छ । तर केही व्यवसायी भने एशोसिएसन र मञ्चबीच सहमतिमा चुनावमा जाने चर्चा दुवैतिरका उम्मेदवारका आकांक्षी व्यवस्थापन गर्ने चालबाजी मात्रै भएको र संघमा केन्द्रको सहमतिको फर्मुलाले काम नगर्ने बताउँछन् । संघको निर्वाचनका लागि अझै २ हप्ताको समय बाँकी रहेकाले अहिले नै ठोस अनुमान लगाउन नसकिने कतिपय अग्रज व्यवसायीको टिप्पणी छ ।