काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अध्यक्ष तथा महासचिव पदका लागि उम्मेदवारी टुंगो लगाएको छ ।
मञ्चका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री ‘कुमार’का अनुसार अध्यक्ष पदमा नरेश गेलाल तथा महासचिवमा जनक रावललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय मञ्चले गरेको छ । गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव र रावल मञ्चका वर्तमान अध्यक्ष हुन् ।
उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको टुंगो केही दिनभित्र लगाउने तयारी रहेको बताइएको छ । यसअघि हाल संघका प्रथम उपाध्यक्ष रहेका खत्रीले पनि अध्यक्षका लागि इच्छा जाहेर गर्दै आएका थिए । बैठकमा खत्रीलाई मञ्चको आगामी साधारणसभा पछि सर्वसम्मतिले अध्यक्ष चयन गर्ने भद्र सहमति बनेपछि संघको अध्यक्षमा गेलाल र महासचिवमा रावलको उम्मेदवारी सर्वसम्मतिले पारित भएको हो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा जस्तै मञ्चमा पनि पदाधिकारी र सदस्य पदका लागि धेरै व्यवसायी आकांक्षी देखिएका छन् । मञ्चले १–२ दिनभित्र अन्य उम्मेदवार टुंगो लगाउने बताएको छ ।
उता एशोसिएसनमा अध्यक्षसहित पदाधिकारीको उम्मेदवारी टुंगो लगाउन रस्साकस्सी चलिरहेको छ । एशोसिएसनबाट अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रालि.का संचालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का संचालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिं गुरुङ, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक सुजित कुमार श्रेष्ठ, फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक कुमुद खनाल र एसआरके ओभरसिज प्रा.लि.का संचालक किशोर केसी गरी ७ जना आकांक्षीको उम्मेदवार दाबी परेको छ ।
बुधबार नेपाली कांग्रेस पार्टीका प्रतिनिधि प्रकाश रसाइली स्नेही र एशोसिएसनका पूर्वअध्यक्षहरूले अध्यक्षका आकांक्षीहरूसँग एशोसिएसन कार्यालय बानेश्वरमा छुट्टाछुट्टै छलफल गरेका छन् । छलफलमा अध्यक्षका सबै आकांक्षी सहभागी रहेको बताइएको छ । संघको अघिल्लो निर्वाचनमा विद्रोह भएपछि एशोसिएसनमा यस पटक जसरी भएपनि सर्वसम्मतिले उम्मेदवार छनोट गर्नुपर्ने दबाब छ । अघिल्लो पटक विद्रोह भएको र त्यसको ठोस समीक्षा नभए यसपटक पनि विद्रोह देखापर्ने विषयमा कतिपय उम्मेदवारले पार्टी प्रतिनिधि र पूर्वअध्यक्षहरूको ध्यानाकर्षण गराएको बताइएको छ ।