२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

एशोसिएसनले माग्यो उम्मेदवारीको दाबी पत्र, प्रगतिशीलमा रस्साकस्सी, गणतान्त्रिक र एकीकृत तालमेलतिर

shivam cement
२०८१ माघ १४ गते ०६:२५
एशोसिएसनले माग्यो उम्मेदवारीको दाबी पत्र, प्रगतिशीलमा रस्साकस्सी, गणतान्त्रिक र एकीकृत तालमेलतिर

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिको आगामी निर्वाचनका लागि उम्मेदवार छनोटरो लागि दावी पत्र आह्वान गरेको छ । एशोसिएसनले आफ्नो समूहबाट उम्मेदवारी दिन इच्छुक व्यवसायीहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले पार्टी प्रतिनिधिको राय सुझावअनुसार सर्वसम्मतिले उम्मेदवार चयन गर्ने बताएको छ ।

एशोसिएसनले माघ १४ गते सोमबार कार्यालय समयमा उपस्थित भएर आ–आफ्नो उम्मेदवारी दिन आह्वान गरेको छ । एशोसिएसन अध्यक्ष दीपक थापाले सोमबार निर्धारण गरिएको समयभित्र प्राप्त निवेदनका आधारमा छिट्टै आधिकारिक उम्मेदवार सार्वजनिक गरिने बताए । अध्यक्ष थापाले सकेसम्म जातीय, भेगीय, क्षेत्रीय तथा अन्य राजनीतिक दल निकट व्यवसायीका संस्थामा आबद्ध व्यवसायीलाई पनि गोलबन्द गरेर जाने योजना पनि रहेकाले उनीहरूसँग पनि छलफल भइरहेको जानकारी दिए । अध्यक्ष थापाले भने, ‘सबै व्यवसायीलाई समेटेर जाने विषयमा हामी खुला छौं, केही संस्थाहरूसँग भएको छलफल सहकार्यको नजिक पुगेको छ ।’

एशोसिएसनले इच्छुक उम्मेदवार नेपाली कांग्रेसमा आबद्धता भइ क्रियाशील सदस्यता प्राप्त गरी आफ्नो कार्यालयको शेयर लागत प्रमाणपत्र, संघका प्रतिनिधित्वको लागि संचालक समितिको निर्णय, लेभी तिरेको रसिद, लिखित आकांक्षा पत्र, आफ्नो पूर्ण विवरण, नागरिकता वा राहदानीको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटोसहित आफ्नो इच्छा जाहेर गर्नुपर्ने बताएको छ । संघको साधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने व्यवस्था छ । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भई कम्तीमा एक कार्यकाल काम गरेकोे हुनुपर्ने अनिवार्य प्रावधान छ ।

लोकतान्त्रिक एशोसिएसनमा अध्यक्षको उम्मेदवार बन्ने आकांक्षी धेरै देखिएका छन् । हालसम्म एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, कुमुद खनाल, हालका महासचिव मेघनाथ भुर्तेल, पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, किशोर केसी, पूर्वमहासचिव सुजित कुमार श्रेष्ठ, पूर्वकोषाध्यक्ष राधिका कटुवाललगायतले आ–आफ्नो समूहमा छलफल चलाइरहेको बताइएको छ ।

उता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले उम्मेदवारका आकांक्षीहरूबाट आ–आफ्नो दाबी पेश गर्न लगाएर अध्ययन गरिरहेको अध्यक्ष जनक रावलले बताए । प्रगतिशीलमा संघका हालका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार) र संघका पूर्वमहासचिव नरेश गेलालबीच अध्यक्षको उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको बताइन्छ ।

यता वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले तालमेलका आधारमा उम्मेदवार उठाउने बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise