काठमाडौं : उच्च अदालत पाटनले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने केयर गिभरको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयले छनोट गरेका ५ वटा स्वास्थ्य संस्थाका पक्षमा आदेश जारी गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल र टीकाराम आचार्यको संयुक्त इजलासले सोमबार रिट निवेदकको मागबमोजिम स्वास्थ्य परीक्षणमा रोक लगाउनेगरी अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो ।
गत ४ पुसमा इजरायली दूतावासले नेपाल मेडिसिटी अस्पताल, स्टार हस्पिटल, ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रा. लि. इजरायलको ‘जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)को मापदण्डअनुसार रहेको भन्दै ती ५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणको अनुमति दिइएको जानकारी परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएको थियो ।
इजरायलद्वारा छनोट गरिएका ५ वटा स्वास्थ्य संस्थाहरू वैदेशिक रोजगार ऐन, नियमावली र कार्यविधिविपरीत भएको भन्दै स्वास्थ्य व्यवसायी दिवाकर गौतम, रमेश आचार्यलगायतले १६ पुसमा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
छनोटमा परेका स्वास्थ्य संस्थाले १७ पुसदेखि स्वास्थ परीक्षण सुरुवात गरेका छन् । पहिलो चरणको स्वास्थ्य परीक्षण मंगलबार सकिँदै छ ।