२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

नेपालमा मंकी पक्सको जोखिम कति ?

२०८१ पुष २३ गते ०६:१५
नेपालमा मंकी पक्सको जोखिम कति ?

–डा. प्रकाश बुढाथोकी

नेपालमा पुनः १८ महिनापछि मंकी पक्स देखापरेको छ । तनहुँ स्थायी घर भई ४ पुसमा काठमाडौं आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा ५ पुसमा संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ ।

पहिलो संक्रमित ३ पुसमा विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हुँदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष १३ पुसमा १ दिन स्वयम्भूमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ ।

नेपालमा पहिलो पटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मंकीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले १ असार २०८० मा पुष्टि गरेको थियो । 

सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट ६३ हजारभन्दा बढी नमुनामा १३ हजार ५७९ बढी पुष्टि, मृत्यु १ हजार २०० भन्दा बढी छ । संक्रमण तीव्र रूपमा फैलिएपछि अफ्रिकी सीडीसीले गत १२ अगस्टमा जनस्वास्थ्य संकटकाल तथा विश्व स्वास्थ्य संगठनले १४ अगस्टमा विश्व स्वास्थ्य आपत्काल (पीएचआईसी) घोषणा गरेको थियो ।

एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ । अफ्रिकी महादेशमा दशकौं अगाडिदेखि नै देखिइरहेको छ । तथापि, विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले विश्वभर ७५ देशमा १६ हजार जनामा भाइरस पुष्टि भएपछि मंकी पक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो । हाल मंकी पक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ ।

सन् १९५८ मा पहिलो पटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइएको थियो । मानिसमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो ।

सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो । एसियामा सर्वप्रथम सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका ब्यक्तिलाई मंकी पक्स देखिएको थियो । बाँदरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, संक्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म संक्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिन सक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको संगठनले बताएको छ ।

सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रूपमा फैलिई ११० देशमा ८७ हजारभन्दा बढी संक्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ । 

मंकी पक्स भाइरसका क्लेड– १  २ गरी २ प्रजाति छन्, यसमा क्लेड– १ बढी संक्रामक र घातक छ । सन् २०२२ मा क्लेड– २ भेरियन्टको संक्रमण ७० बढी देशमा फैलिँदा एम–पक्सलाई जनस्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो ।

अफ्रिकामा देखिएको भेरियन्ट क्लेड– १ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड– १ बी संक्रमितहरूमध्ये १० प्रतिशतभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जंगली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मंकी पक्स नामकरण गरिएको हो ।

कस्ता हुन्छन् लक्षण ?

सामान्यतः संक्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेसी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने गर्छन् । संक्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैं हराउँछ । बिमिराको प्रकृति चिकन पक्स अर्थात् ठेउला र भिरिंगीसँग मिल्दोजुल्दो छ ।

संक्रमण भएको १ देखि २१ दिनसम्ममा एम–पक्सका लक्षणहरू देखिने गर्छन् र २ देखि ४ हप्तासम्ममा अधिकांश संक्रमितले स्वास्थ्यलाभ गरिसक्छन् । ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा संक्रमितहरूमध्ये सबैभन्दा बढीमा शरीरको विशेषतः गुप्तांग, मलद्वारमा घाउ, पानीका फोकाहरू देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र पछि सामान्यतः आफैं हराउँछ ।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा लक्षण देखिने अवधि २ देखि ३ सातासम्म रहन्छ । संक्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यु हुन सक्छ । गर्भवती, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा जटिलता हुन सक्छ । सम्भावित जटिलताहरूमा आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु पर्छन् ।

सर्ने माध्यम

सम्पर्कमा आएका ५० जनामध्ये १ जनामा सर्ने यो रोग अन्य संक्रामक रोग तथा बिमिरा ठेउला र भिरिंगीको बिमिरासँग मल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ । 

रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांसपेसीबाट सर्ने गर्छ । भाइरस स्वास नली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्न सक्छ ।

यस्तै, बाँदर, मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ । संक्रमितसँगको यौन सम्पर्कबाट पनि सर्न सक्छ । तथापि, वीर्यबाट सर्ने प्रमाणित भइसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्न सक्छ । फोका, लुगाफाटोलगायतमा संक्रमण हुँदा सर्ने जोखिम बढी रहन्छ । 

उपचार तथा रोकथाम

धेरैजसो मानिसमा यसले कुनै जटिलता नल्याउने र २ देखि ४ हप्तामा आफैं निको हुन्छ । तथापि, बच्चा, वृद्धवृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अंगको संक्रमण, निमोनिया, इन्सेफ्लाइटिस जस्ता जटिलता ल्याउने गर्छ । 

रोगको मृत्यु दर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ ।

कोरोना संक्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहोरदोहोर गर्ने स्थान, साबुन–पानीले हातको सरसफाइ जस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्छ ।

संक्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसंक्रमित गरेर मात्र अन्यले प्रयोग गर्नुपर्छ । सन् १९८० मा उन्मूलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकी पक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रमण भएको ४ दिनभित्र खोप लिन सकिन्छ र ४ देखि १४ दिनभित्रमा खोप दिन सके संक्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ ।

बिफर उन्मूलन भइसकेकाले त्यसको खोप विश्वमा पाउन गाह्रो छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको २ मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यताप्राप्त छ ।

उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । विगतदेखि नै समलिंगी बढी संक्रमित छन् । बिफरको खोपले मुटुको मांसपेसी सुजन, रोग प्रतिरोधात्मक क्षमता दबाउने, एचआईभी जस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ ।

नयाँ पुस्ताका खोप जिन्नेइओस जस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन् । तथापि, अहिलेका लागि संक्रमण रोक्न रिङ भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम–पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसीएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड व्यक्तिमा प्रयोगमा नल्याउन सीडीसीले अनुरोध गरेको थियो । निष्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ ।

रोकथामका लागि स्मल पक्स संक्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसीएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मूलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारका रूपमा प्रयोग गर्न सुरक्षित राखिएको थियो । सीडीसीले बिफरको उपचारमा प्रयोग गरिने २ एन्टिभाइरल औषधि टीपीओएक्स र सिडोफोभिर मंकी पक्सविरुद्ध प्रयोग गर्न अनुमतिसमेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कन्डम प्रयोग गर्न र यौन साथीहरू परिवर्तन गरेकामा लक्षणहरूमा ध्यान दिनुपर्छ । भाइरस बोक्न सक्ने जनावरहरू, बिरामी वा मरेका जनावर, बाँदर, मुसा जस्ता संक्रमणको इतिहास भएकाहरूको सम्पर्कमा आउनु हुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुन–पानीले हात धुने गर्नुपर्छ । 

संक्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मंकी पक्स सतह र सामग्रीमार्फत पनि सर्न सक्ने भएकाले बिरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू छुनु हुँदैन । 

आमनागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन । तसर्थ, ज्वरो आएको ३ दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनुपर्छ । एम–पक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्ने जोखिममा पञ्जा लगाउने, नियमित रूपमा साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, संक्रमितका लुगा, तौलिया, ओछ्यान, भाँडाहरू तातोपानी, साबुन, डिटर्जेन्टले धुने गर्नुपर्छ । 

(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।)

ADV

सम्बन्धित खबर