२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

कम्युनिस्ट आन्दोलन र संसद्‍वाद

२०८१ पुष २३ गते ०६:१०
कम्युनिस्ट आन्दोलन र संसद्‍वाद

–ईश्वर बुढाथोकी

विगत र अहिलेको सत्ताको स्वरूप एवं चरित्रमा कुनै आधारभूत अन्तर पाइँदैन । हिजो पनि सत्ता सामन्त, नोकरशाही र दलाल पुँजीपतिहरूकै हातमा थियो र आज पनि त्यही छ । समाजको आर्थिक तथा सामाजिक आधारमा कुनै खास अन्तर आएको छैन ।

विश्वको कुनै पनि उत्पीडित राष्ट्रको प्रतिक्रियावादी राजनीतिक सत्ता साम्राज्यवादको हिसाबकिताबअनुसार चलिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनभित्र व्यवस्थालाई हेर्ने फरक–फरक दृष्टिकोणहरू छन् । त्यसमा पहिलो र बलशाली संसद्बाट नै जनवाद प्राप्त गर्न सकिन्छ भन्ने छ । यो बहुमत ल्याएर सरकार गठन गर्न प्रयत्न गर्ने प्रवृत्ति हो । यो कम्युनिस्ट आन्दोलनभित्रको घोर संशोधनवादी प्रवृत्ति हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बदनाम गद्दार काउत्स्की, ख्रुस्चेभकै यो जारी रूप हो । दोस्रो, व्यवस्थाको भण्डाफोर गर्न र जनतालाई प्रशिक्षित गर्न संसद्वादको पनि विविध ढंगले उपयोग गरी अगाडि बढ्नु रहेको छ । त्यसैले मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा दृढतापूर्वक संघर्ष गर्न र प्रतिक्रियावादी र संसद्वादीहरूमाथि विजय प्राप्त गर्न अगाडि बढ्नु रहेको छ । अहिले क्रान्तिकारीहरूले जतिसुकै प्रतिकूल परिस्थिति भए पनि धैर्य र साहसका साथ आत्मविश्वासपूर्वक संघर्ष गर्नु जरुरी छ । 

संसद्वादका सम्बन्धमा क्रान्तिकारीहरूले स्पष्टसँग जनताका सामु बोल्नुपर्छ र संशोधनवादले मार्क्सवादकै खोल ओढेर पुरानै संशोधनवादी सारलाई अघि बढाउने काम गर्दै आएको सत्यलाई छर्लंग पार्न सक्नुपर्छ । संशोधनवादले संसद्वादको पक्षपोषण गर्ने तथा जनतालाई धोका दिने काम गर्दै आएको छ ।

मार्क्सवाद र संशोधनवादका बीचको लडाइँ यथार्थमा क्रान्ति र प्रतिक्रान्तिका बीचको लडाइँ हो । संसदीय व्यवस्था पुँजीवादी सत्ताको राजनीतिक स्वरूप हो । पुँजीपति वर्गले सामन्तवादीहरूबाट सत्ता हत्याएपछि ‘प्रजातन्त्र’का नाममा संसदीय प्रणाली स्थापना भएको थियो र त्यसैको नाममा व्यवस्था संचालन गरियो ।

संसद्वाद वर्गीय उत्पीडनको उपकरण हो । रुपैयाँ र शक्तिको आडमा संचालन गरिने राजनीति नै संसद्वाद हो । अहिले नेपालमा अप्रत्यक्ष लोकतन्त्र अभ्यासमा छ । यसले दलाल नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थालाई जन्म दिएको छ । पुँजीवादी संसदीय अर्थ व्यवस्थाकै कारण राष्ट्रिय अर्थतन्त्र धराशायी बन्दै गएको छ । संसद्वाद वास्तविक रूपमा जनताको व्यवस्था होइन । यो मूल रूपमा पुँजीपति वर्गको हितमा संगठित र संचालित प्रजातन्त्र हो । संसद्वादले जनतालाई भ्रम पस्केको छ । संशोधनवादीहरूले संसद्वादलाई प्रगतिशील बताएर आफ्नो शोषणलाई अक्षुण्ण राख्ने कसरत गर्दै आएका छन् । 

नेपाली कम्युनिस्ट आन्दोलनमा संसद्वादको खतरा कायमै छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीभित्र भीषण २ लाइन संघर्ष चल्दै आएको छ । सुधारवाद, राजावादी लाइन, संसदीय लाइन, वर्ग संघर्षको लाइन, चुनाव बहिस्कारको लाइन, बहुदलीय जनवादको लाइन, जनयुद्ध र जनविद्रोहको फ्युजनको लाइन, लोकतान्त्रिक गणतन्त्रको लाइन, संविधानसभाको लाइन, विद्रोहको लाइन, एकीकृत जनक्रान्तिको लाइन, समाजवादको लाइन संघर्षहरू उत्कर्षमा थिए र छन् पनि । 

नेपालको कम्युनिस्ट आन्दोलनमा आएको टुटफुट र विभाजन तथा नेतृत्व परिवर्तनले एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माणलाई धक्का पुर्‍याएको छ । कम्युनिस्टहरू वास्तवमा भन्ने हो भने संसद्वादमा विश्वास गर्दैनन् र गर्नु पनि हुँदैन । संसद्वादको पोखरीमा डुबुल्की मार्नु कम्युनिस्टहरूको सैद्धान्तिक लाइन हुँदै होइन । वैज्ञानिक समाजवादी जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यसहित अगाडि बढ्नेहरू मात्र वास्तविक कम्युनिस्ट हुन् ।

ADV

सम्बन्धित खबर