२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

नेपाली कामदारको हकहित संरक्षण उच्च प्राथमिकतामा : राजदूत डा. तिम्सिना

मध्यान्ह
२०८१ पुष २० गते ०६:२५
नेपाली कामदारको हकहित संरक्षण उच्च प्राथमिकतामा : राजदूत डा. तिम्सिना

काठमाडौं : मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपाली कामदारको हकहित संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

नेकपा एमालेको सामाजिक सेवा विभागले शुक्रबार आयोजना गरेको बधाई तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. तिम्सिनाले नेपालको आर्थिक कूटनीतिभित्र वैदेशिक रोजगारीमा रहेका श्रमिकको हक अधिकारको विषय अन्तरनिहीत रहेकाले उनीहरूको हक अधिकार संरक्षणको विषय आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

सोमबार जिम्मेवारी सम्हाल्न मलेसिया जान लागेका डा. तिम्सिना राजदूत नियुक्त हुनुअघि एमाले सामाजिक सेवा विभ(ागका सचिव थिए । डा. तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् ।

डा. तिम्सिनाले मलेसियाको रोजगारीमा ओभरटाइमसम्बन्धी विषयमा रहेको फरकफरक बुझाइले कामदार र उनीहरूलाई पठाउने म्यानपावर कम्पनीका बीच पटकपटक असमझदारी रहेको विषयमा आफू जानकार रहेको पनि बताए ।

उनले भने, ‘१५ सय नियमित तलब र ओभरटाइमको ७०० गरी २२ सय रिंगेट अथवा करिब ६८ हजार रुपैयाँ तलब हुने आश्वासन दिएर साढे २ देखि ३ लाख लिने गरिएको रहेछ, यस विषयमा कहिलेकाहीँ तनाव हुन्छ । मलेसिया पुग्नासाथ कामदारले काम नपाएको अवस्थामा तुरुन्तै सबै रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरे कामदारको समस्या समाधान हुने देखेको छु ।’

नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारको स्रोत देशको रूपमा मान्यता दिएको छ । मलेसिया सरकारको यो निर्णय हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको सुदृढीकरण र विविधीकरणका लागि प्रमुख कारक बनेको राजदूत डा. तिम्सिनाले बताए । 

पछिल्ला दिनमा मलेसियाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । राजदूत डा. तिम्सिनाले त्यसलाई ध्यान दिँदै दुवै मुलुकमा पर्यटक आवागमन र नेपालमा मलेसियाको लगानी अभिवृद्धिका लागि काम गर्ने बताए ।

नेपाल र मलेसियाबीच सन् २००३ मार्चदेखि सिधा हवाई सम्पर्क भएको र हाल साप्ताहिक १९ उडान भइरहेकाले आगामी दिनमा दुवै देशलाई अझ नजिक ल्याउन पहल गरिने पनि बताए । सन् २०२५ देखि मलेसिया आसियान मुलुकहरूको अध्यक्ष भएकाले नेपाललाई आसियान मुलुकबाट पुर्‍याउने लाभबारे पनि आफूले काम गर्ने उल्लेख गरे ।

पार्टी केन्द्रीय सदस्य तथा विभाग प्रमुख संविधानसभा सदस्य कल्पना चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव शंकर पोखरेलले नेपाली श्रमिकको प्रमुख गन्तव्यमा डा. तिम्सिना जस्तो योग्य व्यक्ति राजदूतको जिम्मेवारीमा जानु सुखद भएको टिप्पणी गरे ।

पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले विभिन्न कारणले समस्यामा पर्ने नेपालीको उद्धार मुख्य चुनौती रहेको भन्दै मलेसियामा जुनसुकै गतिविधिमा संलग्न भएको भए पनि नेपाली राजदूतले उनीहरूलाई बिनापूर्वाग्रह संरक्षण प्रदान गर्न सक्नुपर्ने सुझाव दिइन् ।

अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. अर्जुन कार्कीले गरिबीको रेखामुनि रहेका विपन्न कामदारको अभिभावकीय जिम्मेवारी पूरा गर्न र नेपालको आर्थिक स्वार्थलाई कलात्मक शैलीमा पूरा गर्न नवनियुक्त राजदूत डा. तिम्सिनालाई सुझाव र शुभकामना दिए ।

सामाजिक विभागका मीनबहादुर शाहीले संचालन गरेको सो कार्यक्रममा विभागका तर्फबाट मायाको चिनो प्रदान गर्दै एमाले केन्द्रीय सदस्य, विभाग प्रमुख तथा संविधानसभा सदस्य चापागाईंले डा. तिम्सिना जस्तो बौद्धिक व्यक्तित्वलाई सामाजिक सेवा विभागबाट बिदाइ गर्नुपरेकोमा मन भारी भएको, तर लाखौं श्रमिकको अविभावक भएर राष्ट्रको प्रतिनिधित्व गर्दै मलेसियाको राजदूत भएर जान लागेकोमा झन बढी खुसी लागेको बताइन् ।

 

ADV

सम्बन्धित खबर