२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

असोजभित्र शाखा नवीकरण गर्न म्यानपावर कम्पनीहरुलाई विभागको उर्दी

Nada
२०८१ असोज ७ गते ०६:२५
Shares
असोजभित्र शाखा नवीकरण गर्न म्यानपावर कम्पनीहरुलाई विभागको उर्दी

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरूको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

ncell

तर धेरै म्यानपावर कम्पनीले शाखा कार्यालय नवीकरण नगरेको देखिएपछि सूचना नै निकालेर विभागले असोज मसान्तसम्ममा शाखा कार्यालय नवीकरणको दबाब दिएको हो । कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार शुल्क लाग्ने व्यवस्था छ ।

शाखा  नवीकरण गराउन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर, शेयर लगत, हालसालै अध्यावधिक गरिएको शेयर लगतको पत्र, गत आर्थिक वर्षको करचुक्ता प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सञ्चालक समितिको निर्णय, शाखा दर्ता गर्दा पेश गरेको नगद धरौटीको प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतलिपि, शाखा प्रमुख र अन्य कर्मचारीको नियुक्तिपत्र तथा विवरण र कार्यालय वहालमा रहेको भए घर वहाल सम्झौता पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विभागले वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक वटा, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालन गर्न दिने गरेको छ ।

प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क दुई लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । 

विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तीमध्ये अधिकांशले झापाको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित खबर