२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विदेशमा ज्यान गुमाउनेमध्ये १२ प्रतिशत आत्महत्याबाट

Nada
२०८१ असोज २ गते ०६:३०
Shares
विदेशमा ज्यान गुमाउनेमध्ये १२ प्रतिशत आत्महत्याबाट

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेमध्ये करिब १२ प्रतिशत नेपाली कामदारले आत्महत्याको बाटो रोजेको देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १ हजार २ सय ७३ मध्ये १ सय ४७ जनाले नेपाली कामदारले आत्महत्या गरेका थिए ।

ncell

रोजगारीको सिलसिलामा ज्यान गुमाउनेमध्ये मृत्युको पहिलो कारणमा विभिन्न प्रकारका रोगको संक्रमण, दोस्रो कारण प्राकृतिक मृत्यु र तेस्रो कारण आत्महत्या रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । विगत चार वर्षमा आत्महत्याका कारण ४ सय ६६ जना नेपालीको ज्यान गएको छ । लामो समयको पर्खाइ, ऋणमार्फत धेरै लगानी गरेर श्रम गन्तव्यमा पुगेपछि अपेक्षाभन्दा फरक काम र कम पारिश्रमिक र पारिवारिक दबाबले सिर्जना गर्ने निराशाले कामदारहरूलाई मृत्युको मार्गमा दुरूत्साहित गर्ने गरेकोे अनुभवीहरू बताउँछन् ।

बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिनका माध्यमबाट श्रम गन्तव्यमा डिप्रेशन र तनावको सामना गरिरहेका नेपाली युवायुवतीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारमा आत्महत्याको संख्या बढेपछि यो बहसको विषय बनेको छ । सोही कारण पनि दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले संसदीय सुनुवाइका क्रममा कोरियामा कतिपय नेपाली कामदारले डिप्रेसनको शिकार भइ आत्महत्या गर्ने गरेकाले ‘तनाव व्यवस्थापन’ कार्यक्रमलाई पनि अगाडि बढाउने प्रतिबद्धता जनाएकी थिइन् ।

विदेशमा कार्यरत कतिपय नेपाली कामदारले सामाजिक सञ्जालहरूमा हुने चर्चाको लहलहैमा लागेर कमाइको ठूलो हिस्सा बिनाअध्ययन शेयर बजारको दोस्रो बजारमा लगाउने र गुमाउने गरेका कारणले पनि उनीहरू मानसिक दबाब र तनावमा पर्ने गरेको बताइन्छ ।

मलेसियाका मनोसामाजिक परामर्शदाताहरूले केही समयअघि नेपाली वैदेशिक रोजगार व्यवसायीहरूसँग गरेको छलफलमा कामदारको शारीरिक तन्दुरुस्ती र अन्य रोग परीक्षणसहित मानसिक स्वास्थ्य परीक्षणको विषय सरकारी नीतिको प्राथमिकतामा रहनुपर्ने सुझाव दिएका थिए । मानसिक समस्यामा रहने वैदेशिक रोजगारमा गएका युवाहरुमा सुतेकै अवस्था मृत्यु हुने, डिप्रेसनका कारण आत्महत्या गर्ने, बीचमै रोजगारी छोड्ने, कम्पनीसँग सेवा सुविधा जस्ता विषयमा अनावश्यक झगडा गर्ने प्रवृत्ति देखिने मलेसियाका मनोपरामर्शदाताहरूको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर