२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

Nada
२०८१ भदौ ७ गते २०:२६
Shares
उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

काठमाडौं : द च्याम्पियन्स तेक्वान्दो डोजाङ्गको ‘दोस्रो उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप–२०८१’ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाका सचिव सुमन श्रेष्ठको सञ्चालन र डोजाङ्ग प्रमुख प्रदीप आलेमगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

ncell

विभिन्न तौल समूहका विजयी प्रतिस्पर्धीहरुलाई पदक वितरण गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य धर्मराज अर्याल विशेष अतिथि र नागार्जुन नगरपालिका १ का वडा अध्यक्ष रामेश्वर लामा, काठमाडौं महानगरपालिका वडा नं. १६ का का.वा. वडाअध्यक्ष पुष्प महर्जन, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका सदस्य दिनेश बाँडा, रामचन्द्र व्यञ्जनकार, नेपाल तेक्वान्दो संघ सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष नोवाङ केर्साङ लामा र तरुण दलका केन्द्रीय सदस्य गगन थापा अतिथिको रुपमा उपस्थित थिए । 

नागार्जुन–१, रानीवनस्थित काठमाडौं भ्याली स्कुलमा सम्पन्न उक्त कार्यक्रममा तेक्वान्दोको गेरोगी र पुम्से विधामा प्रतिस्पर्धा गरी विजय प्राप्त गरेका ३ सय ५० खेलाडीहरुलाई ट्रफी तथा पदक प्रदान गरियो । 

उपत्यकाका विद्यालय र डोजाङ गरी जम्मा २३ टिम प्रतिस्पर्धामा सहभागी थिए । गेरोगी विधामा पुरुषतर्फ २० देखि ५७ केजीसम्म १२ तौल समूहमा साथै महिलातर्फ २० देखि ५१ केजीसम्म १० तौल समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

खेलमा गेरोगी विधातर्फ आयोजक द च्याम्पियन्स तेक्वान्दो डोजाङ वनस्थली १६ खरिबोटले प्रथम, वेष्ट डिभिजन तेक्वान्दो डोजाङ मातातीर्थले द्वितीय र कोपेश तेक्वान्दो डोजाङ कोटेश्वरले तृतीय स्थान हासिल गर्न सफल भयो भने पुम्से विधातर्फ काठमाडौं ग्लोबल स्कुल सामाखुसीले प्रथम, मञ्जरी तेक्वान्दो डोजाङ बुढानिलकण्ठले द्वितीय र आयोजक द च्याम्पियन्स तेक्वान्दो डोजाङ वनस्थली १६ खरिबोटले तृतीय स्थान हासिल गर्‍यो । 

सोही कार्यक्रमा एसईई प्रिन्सेस सिजन १२, २०२४ कि विजेता एवम् आयोजक द च्याम्पियन्स तेक्वान्दो डोजाङकी ब्ल्याक बेल्ट खेलाडी प्राप्ति श्रेष्ठ, एसईई २०८० मा जी.पि.ए. ४.० प्राप्त गरेकी काठमाडौं भ्याली स्कुल रानीवनकी ब्याच प्रथम छात्रा प्रशंसा न्यौपानेलगायत शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरु पनि पुरस्कृत भए ।

काठमाडौं भ्याली स्कुलकी प्रिन्सिपल अञ्जना श्रेष्ठ, विद्यालय सुपरभाइजर एवम् काउन्सिलर राजिव प्रधान र अतिरिक्त क्रियाकलाप इञ्चार्ज परम राईको विशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन विक्रम राई, निरज गौतम, नोर्बु लामा, छुल्टिम लामा, सागर राईलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर