२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

विभेद अन्त्यका लागि एकजुट हुन आह्वान

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर १० गते २१:०४
Shares
विभेद अन्त्यका लागि एकजुट हुन आह्वान

रौतहट : जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले रंगभेदविरुद्ध एकता दिवसको अवसरमा जिल्लास्तरीय विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बिहीबार आयोजित उक्त कार्यक्रममार्फत समाजमा विद्यमान रंगभेद, जातीय तथा भाषिक विभेद र सांस्कृतिक पहिचानमाथिको अपमान अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गरिएको हो । 

कार्यक्रममा जनमत पार्टीका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता, युवा, शुभेच्छुक तथा सर्वसाधारण स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले समान अधिकार, सामाजिक न्याय र पहिचानको सम्मानको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै जनमत पार्टी रौतहटका जिल्ला अध्यक्ष बिकास कुमार यादवले समाजका हरेक तहमा देखिने रंगभेद, जातीय विभेद, भाषिक विभेद तथा सांस्कृतिक पहिचानमाथिको हेपाहा प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।  उनले पहिचान र भेषभूषाका आधारमा कसैलाई पनि होच्याउने वा अपमान गर्ने संस्कार स्वीकार्य नहुने स्पष्ट पारे । 

अध्यक्ष यादवले सम्बोधनका क्रममा भन्ने  धोती लगाउनु अपराध होइन, मैथिली, भोजपुरी र बज्जिका बोल्नु अपराध होइन र मधेशी हुनु कुनै कमजोरी होइन। धोती हाम्रो पहिचान हो, गम्छा हाम्रो शान हो र मधेश हाम्रो सम्मान हो । 

उनले कुनै पनि नागरिकलाई उसको वर्ण, भाषा, भेषभूषा, जात वा समुदायका आधारमा विभेद वा अपमान गर्न नहुने बताउँदै संविधान तथा कानुनबमोजिम सबै नागरिकको समान अधिकार, मर्यादा र अवसर सुनिश्चित गर्न राज्य र समाज दुवै गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे । 

जनमत पार्टीले स्थापनाकालदेखि नै सामाजिक न्याय, समानता, पहिचान र अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराउँदै अध्यक्ष यादवले सबै प्रकारका विभेदविरुद्ध लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले संगठित तथा एकताबद्ध भएर अघि बढ्न नेता, कार्यकर्ता र युवाहरूलाई आह्वान गरे । 

उनले हिमाल, पहाड र मधेशका सबै समुदायका नागरिकले समान सम्मान पाउने, आ–आफ्नो मातृभाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न सक्ने विभेदरहित र समतामूलक समाज निर्माण गर्नु आजको मुख्य आवश्यकता रहेको औँल्याए । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर