
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग सम्बोधनका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सरकारले पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरेको भन्दै महासंघले थप दबाब सिर्जना गर्न तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आफ्ना मागप्रति सहमत गराउन आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले मंसिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म एक घण्टा धर्ना दिने जनाएको छ ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिइनेछ ।
त्यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर र काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघले जनाएको छ ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेलाई कारबाही नगरिएको भन्दै सरकारको विरोध गर्दै आएको छ ।
त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको भन्दै महासंघले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएको छ ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरे त्यस्ता दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ ।