२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी

Nada
२०८३ मंसिर १० गते १४:३५
Shares
स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गर्ने तयारी

काठमाडौं : राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।

यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ । 

मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बिमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बिमा कार्यक्रमको योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बिमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बिमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर