२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

छैटौं नेपालगन्ज कनक्लेभ र १२औं म्याराथनको तयारी पूरा

Nada
२०८३ मंसिर १० गते १५:०७
Shares
छैटौं नेपालगन्ज कनक्लेभ र १२औं म्याराथनको तयारी पूरा

नेपालगन्ज : नेपालगन्जमा मंसिर ११ गते आयोजना हुने छैटौं नेपालगन्ज कनक्लेभ र १२ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । डिस्कोर्सको छैटौं शृंखलाका रूपमा आयोजना हुने कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्यका विषयमा विमर्श हुनेछ ।

कनक्लेभका निर्देशक जनक नेपालका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्म सिटी प्यालेसमा सञ्चालन हुने कार्यक्रममा पाँचवटा सेसन रहनेछन् । ‘खेल, पर्यटन र युवाः सम्भावनाको नयाँ ढोका’ शीर्षकको पहिलो सेसनमा एभरेष्ट म्याराथनका सीईओ शिखर पाण्डे, पूर्वखेलाडी नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल २०२६ दीपमाला ढकाल सहभागी हुनेछन् ।

त्यस्तै, युवा उद्यमीमार्फत व्यवसाय विस्तार, तीन तहका सरकारबीचको समन्वय र कार्यसम्पादन, कथाको भविष्य तथा प्रकाशनका चुनौतीबारे छुट्टाछुट्टै सेसनमा बहस हुनेछ । ती सेसनमा उद्यमी, व्यवसायी, जनप्रतिनिधि, कथाकार तथा प्रकाशक सहभागी हुनेछन् । अन्तिम सेसनमा नेपाली, उर्दु, अवधी, थारु र मगर भाषाका कविहरूले कविता वाचन गर्नुका साथै २० जनाको टोलीले देउडा प्रस्तुत गर्नेछ । यसको संयोजन भेरी साहित्य समाजले गर्नेछ ।

‘नेपालगन्जलाई शान्ति, सद्भाव, खेलकुद र विचार विमर्शको सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हो । कनक्लेभ विचार र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । यसमा सबै क्षेत्र र समुदायका व्यक्तिको सहभागिता अपेक्षा गरेका छौं,’ निर्देशक नेपालले भने । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।

यसैगरी, धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण मंसिर १२ गते शनिबार आयोजना हुनेछ । सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको म्याराथनको यस वर्षको संस्करणमा १२ वटा विधा समावेश गरिएको आयोजकले जनाएको छ ।

म्याराथनका अध्यक्ष टीएस ठकुरीका अनुसार यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ । बिपी चोकबाट सुरु हुने दौडमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश छन् । त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि सञ्चालन हुनेछन् ।

४२ किलोमिटरको खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले पनि समय सुधारका लागि दौडिन सक्ने व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिएका छन् ।

४२ किलोमिटर दौडमा ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टै वरियताक्रम निर्धारण गरी प्रत्येक समूहका पहिलो तीन स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिनेछ । एबोट वर्ल्ड म्याराथन मेजर्ससँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने र विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ ।

विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष ठकुरीले बताए ।

धारा नेपालगन्ज म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले सबैको सामूहिक प्रयत्नबाट यो अभियान सफल हुँदै गएको बताए । आउँदा दिनमा पनि सहकार्य बढाउँदै जान सबैलाई आग्रह गरे ।

नेपालगन्ज म्याराथनले एम्सको अन्तर्राष्ट्रिय सोसल अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै ठकुरीले यसलाई म्याराथनको सामाजिक अभियान र निरन्तर प्रयासको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको बताए ।

आयोजकले कनक्लेभ र म्याराथन दुवै कार्यक्रममा सहभागी हुन सर्वसाधारण, युवा, खेलाडी, साहित्यकार, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर