२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

महेन्द्र महकको कथासङ्ग्रह ‘खदामा’ विमोचन

Nada
२०८३ असोज १७ गते १७:४०
Shares
महेन्द्र महकको कथासङ्ग्रह ‘खदामा’ विमोचन

काठमाडौँ : कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन गरिएको छ ।

ncell

बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको उक्त कथासङ्ग्रहको विमोचन कार्यक्रममा समीक्षकहरूले कृतिले वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, सङ्घर्ष र आशालाई कथात्मक रूपमा प्रस्तुत गरेको बताए ।

समीक्षक नवीन विभाषले ‘खदामा’लाई नेपाली समाजका श्रमजीवी वर्गको प्रतिनिधि कथासङ्ग्रहका रूपमा व्याख्या गरे ।

उनका अनुसार सङ्ग्रहका कथामा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था, विशेषगरी नारी पात्रले भोग्ने उत्पीडन र त्यसबीच देखिने आशावादी स्वर प्रस्तुत गरिएको छ । बहुभाषिक तथा पारलैङ्गिक पात्रका कथामार्फत नेपाली खस भाषालाई समेत समृद्ध बनाउन कृति सफल रहेको उनले बताए ।

समीक्षक विभूति भट्टराईले ‘खदामा’लाई वैदेशिक रोजगारीको पीडा समेटिएको कथासङ्ग्रहका रूपमा चर्चा गरिन् ।

खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाले भोग्ने पीडाको प्रतिनिधित्व कृतिले गरेको उल्लेख गर्दै उनले यसलाई वैदेशिक रोजगारीसँग सम्बन्धित महत्त्वपूर्ण कथा-कृतिका रूपमा प्रस्तुत गरिन् । उनका अनुसार कृतिका कथाले नेपाली युवामा प्रेरणासमेत जगाउने सामर्थ्य राख्छन् ।

लेखक महेन्द्र महकले आफूले वैदेशिक रोजगारीका क्रममा अरबमा रहँदा भोगेका र देखेका अनुभवलाई कथामा रूपान्तरण गरेको बताए । कार्यस्थल र अरबका गल्लीहरूमा देखेका, भोगेका तथा महसुस गरेका श्रमिकका पीडा र अनुभवलाई कथासङ्ग्रहमा समेटिएको उनको भनाइ छ ।

सल्यानको ग्रामीण परिवेशदेखि भारतको सिमला हुँदै संयुक्त अरब इमिरेट्ससम्मको श्रम–यात्रा महकको जीवनको महत्त्वपूर्ण अध्याय हो ।

किशोरावस्थामै श्रमको संसारमा प्रवेश गरेका उनले परदेशमा न्यून वेतनमा काम गर्ने श्रमिकले भोग्ने दुःख, सङ्घर्ष, एक्लोपन, आशा र ससाना खुसीलाई नजिकबाट अनुभूत गरेका थिए । तिनै अनुभव उनका कथाका विषय र संवेदनामा रूपान्तरित भएका छन् ।

नेपाल फर्किएपछि लोकसेवा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका महक हाल नेपाल सरकारका उपसचिव छन् ।

प्रशासनिक जिम्मेवारीसँगै साहित्यिक यात्रालाई निरन्तरता दिइरहेका उनका कथामा प्रवासी श्रमिक जीवन, सामाजिक विस्थापन र मानवीय संवेदनाका विभिन्न तह भेटिन्छन् । ‘खदामा’ महकको पहिलो कथासङ्ग्रह हो ।

ताजा खबर

सम्बन्धित खबर