२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

डा. देवराज अर्यालको ‘स्थानबोध’, जसले पढाउँछ गाउँको भूगोलदेखि समाजको मनोविज्ञानसम्म

Nada
२०८३ असोज २५ गते १२:०२
Shares
डा. देवराज अर्यालको ‘स्थानबोध’, जसले पढाउँछ गाउँको भूगोलदेखि समाजको मनोविज्ञानसम्म

काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयका उपप्राध्यापक डा. देवराज अर्यालको कृति ‘स्थानबोध’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा. डा. रामकुमार पाँडेले उक्त कृति सार्वजनिक गरेका हुन् ।

ncell

कृति सार्वजनिक गर्दै प्रा. डा. पाँडेले ‘स्थानबोध’ नेपालको कुनै एउटा गाउँको कथामा मात्र सीमित नभई समग्र देशको भूगोल र ग्रामीण समाजको प्रतिनिधित्व गर्ने कृति भएको बताए । उनले देशका अन्य क्षेत्र र भूगोलको वास्तविकता समेटेर पनि यस्ता कृति लेख्न लेखकहरूलाई आग्रह गरे ।

पुस्तकका लेखक डा. अर्यालले आफ्नो जन्मस्थान नवलपरासीको द्वारीलाई केन्द्रमा राखेर समग्र देशको वस्तुस्थिति र ग्रामीण जीवनका विविध पक्षलाई प्रस्तुत गरेका छन् ।

गाउँको माटो, बाल्यकालका स्मृति, सामाजिक सम्बन्ध, संस्कृति, भूगोल र विकासका विविध आयामलाई समेटिएको ‘स्थानबोध’ले एउटा गाउँको कथामार्फत समग्र समाज र देशलाई बुझ्ने दृष्टि प्रस्तुत गरेको छ। ग्रामीण जीवनका अनुभव, बदलिँदो सामाजिक परिवेश र गाउँको विकास यात्रालाई यस कृतिमा आत्मीय तथा विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. डा. कुन्दन अर्याल, त्रिचन्द्र क्याम्पसका नेपाली विभागका प्रमुख डा. अङ्गदमणि गौतम, महेन्द्ररत्न क्याम्पस, ताहाचलका प्रमुख प्रा. डा. ओम बराल, वरिष्ठ न्युरोसर्जन डा. राजेन्द्र श्रेष्ठ, समाजसेवी पासाङ काजी शेर्पा तथा डा. शशि मरासिनीलगायतले पुस्तकबारे चर्चा गरेका थिए। उनीहरूले ग्रामीण जीवनमा आधारित यस्ता सामग्रीको आवश्यकता औँल्याए ।

‘स्थानबोध’मार्फत डा. अर्यालले आफ्ना अनुभव, अनुभूति, स्मृति र समाजसँगको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्ने प्रयास गरेको भन्दै वक्ताहरूले कृतिको प्रशंसा गरे । भूगोल र पत्रकारिताको सम्मिश्रण रहेको यस पुस्तकले विकासलाई बुझ्ने दृष्टिकोण फराकिलो बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास थियो ।

‘स्थानबोध’को विषयवस्तु बाल्यकालका सम्झनादेखि गाउँको आर्थिक जीवन, शिक्षा, कृषि, पशुपालन, संस्कृति, सञ्चार र राजनीतिक चेतनासम्म फैलिएको छ । आमाको श्रम, विद्यालय जीवन, साथीभाइसँगका स्मृति, गाउँका धार्मिक तथा सांस्कृतिक परम्परा र सामूहिक जीवनशैलीका प्रसङ्गले पुस्तकलाई आत्मीय बनाएका छन् ।

त्यस्तै, सडक निर्माणपछि उत्पादनमा आएको परिवर्तन, गाउँबाट हुने बसाइँसराइ, प्राकृतिक स्रोतको उपयोग, स्थानीय सञ्चार संस्कृति र विकासका चुनौतीसम्बन्धी विषयले कृतिलाई सामाजिक अध्ययनका दृष्टिले समेत महत्त्वपूर्ण बनाएका छन् ।

पुस्तकमा गाउँको बदलिँदो यथार्थलाई पनि सूक्ष्म रूपमा केलाइएको छ । सडक तथा आधुनिक सुविधाको विस्तारसँगै उत्पादनमा आएको परिवर्तन, परम्परागत श्रम र सहकार्यको संस्कृति, कुलो तथा खेतसँग जोडिएको जीवन, गाउँको पारिस्थितिक प्रणाली र सामाजिक अन्तरनिर्भरताजस्ता विषयले विकासलाई केवल भौतिक पूर्वाधारको विस्तारका रूपमा मात्र हेर्न नहुने सन्देश दिएका छन् । मानिस, प्रकृति, संस्कृति र सामाजिक सम्बन्धलाई एकअर्कासँग जोडेर बुझ्नुपर्ने दृष्टिकोण यस कृतिमा प्रस्तुत गरिएको छ ।

रेडियो, गफगाफ र गाउँको अनौपचारिक सञ्चार संस्कृति, सञ्चारको विकाससँगै बदलिएका सामाजिक सम्बन्ध तथा ग्रामीण समाजमा राजनीतिक चेतनाको विकाससम्बन्धी विषयले लेखकको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिलाई समेत प्रतिबिम्बित गरेका छन् ।

आफ्नो पेसागत जिम्मेवारी र समाजप्रतिको उत्तरदायित्वका लागि परिचित डा. अर्यालले ‘स्थानबोध’मार्फत गाउँको माटो, संस्कृति, स्मृति र जनजीवनलाई शब्दमा जीवन्त उतार्ने प्रयास गरेका छन् ।

पुस्तकबारे लेखक डा. अर्यालले भनेका छन्, “‘स्थानबोध’ केवल एउटा कृति मात्र नभई मेरा अनुभव, अनुभूति, स्मृति र समाजसँगको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्ने एउटा साहित्यिक प्रयास हो ।”

ताजा खबर

सम्बन्धित खबर