
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)ले दोस्रो वरीयतासहितको वरिष्ठ नेता बनाएपछि धेरै ठुलो स्वरमा त होइन, तर अलि सानै स्वरमा भए पनि असन्तुष्टिका केही आवाजहरू राजनीतिक बजारमा प्रकट भएका छन् । अध्यक्ष केपी ओली लोकप्रिय भएको बेलामा पूर्वराष्ट्रपतिले यो कदम चालेको भए विरोधको स्वर अलि ठुलो हुन सक्थ्यो । अलि ठुलो मात्र होइन, सुन्नै नसक्नेसम्म हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । तर विद्यालाई आममान्छेहरूले ओलीकै विकल्प ठानेका कारणले पनि यो आलोचनाको स्वर अलि मत्थर भएको हुन सक्छ । अर्थात् मान्छेहरू विद्यालाई शंकाको सुविधा दिन तयार देखिएका छन् ।
एमालेभित्र त उनको प्रवेश लगभग सर्वसम्मत नै भयो । विद्याको प्रवेशले बिग्रँदै गइरहेको पार्टी ठिक ठाउँमा आउने आशा एमालेवृत्तले राख्नु कुनै नौलो कुरा होइन । यस कारणले पनि उनको पार्टी प्रवेश र प्राप्त जिम्मेवारी सर्वसम्मत भएको सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसबाहेक एमाले पतन हुँदा सिंगै वामआन्दोेलनलाई प्रभाव पार्छ भन्ने तथ्यमा सहमत हुने अन्य पार्टीमा रहेका वामपन्थी वा स्वतन्त्र वामबुद्धिजीवीहरू समेत विद्याको पुनरागमनप्रति सकारात्मक नै छन् । किनकि, उनीहरू पनि एमाले पुुनः वामपन्थी मार्गमा फर्कियोस् भन्ने चाहन्छन् । यो काम गर्न विद्या एउटा उपयुक्त पात्र हो भन्ने धेरैको बुझाइ छ । त्यतिमात्र होइन, एमाले–कांग्रेसजस्ता पार्टीहरू कमजोर हुँदा समाजमा देखापरेको अराजकता र त्यो अराजकताबाट शक्तिमा आएर अंकुराउन खोजिरहेको फासिवादप्रति गैर्कम्युनिस्ट लोकतन्त्रवादीहरू चिन्तित हुनु स्वभाविक नै थियो । त्यस्ता चिन्तित गैरकम्युनिस्टहरू समेत विद्याको यो कदमलाई ‘पर्ख र हेर’को नीति अवलम्बन गर्दै शान्त देखिएका छन् । उनीहरू विद्याको आगमनले ओली सुध्रिने अथवा विस्थापित हुने आशामा रहेका हुन सक्छन् । त्यसकारण उनीहरू राष्ट्र प्रमुखको भूमिकामा रहेको एउटा मान्छे पार्टी राजनीतिमा पुनः फर्किएको कुरालाई पनि त्यति ठुलो विषय बनाउन चाहिरहेको देखिँदैनन् ।
अब निकट भविष्यको कुरा गरौं । विद्याको एमाले प्रवेशपछि पनि ओली विस्थापित भएनन् वा विद्या स्वयम् उनको रक्षाकवच बनेर आइन् भने एमालेभित्र अझै पनि बाँचिरहेको एउटा ठुलो वामपन्थी जमात सिधै विद्यामाथि खनिन सक्छ । त्यसबाहेक विद्याले एमाले पार्टीलाई पुनः वामपन्थी बाटोमा फर्काउन प्रयत्न गरिनन् भने बाहिर रहेका वामपन्थीहरूको सम्पूर्ण पंक्ति पनि हरेक हिसाबले विद्याको विरुद्ध उभिन सक्छ । त्यतिखेर अन्य लोकतन्त्रवादी शक्ति र नागरिक समाजले पनि विद्याको पार्टी राजनीति प्रवेशको उपादेयता देख्ने छैनन् । उनीहरूले विद्याको यो कदमलाई सत्तालिप्साको रूपमा बयान गर्नेछन् । त्यतिखेर उनको लोकप्रियता आजजस्तो रहने छैन । त्यस्तो परिस्थिति स्वयं विद्याका लागि पनि दर्दनाक हुन सक्छ । त्यसकारण विद्याको सफलता उनको पार्टीका लागि, समग्र वाम आन्दोलनका लागि, नेपालको लोकतान्त्रिक आन्दोलनका लागि र स्वयम् उनकै लागि पनि अत्यन्त जरुरी छ ।
विद्या पार्टी राजनीतिमा सफल हुन्छिन् कि हुँदिनन् भन्ने प्रश्न स्वयम् उनकै व्यवहारमा निर्भर हुने भए पनि उनी कुन परिस्थितिमा वरिष्ठ नेता बनेकी हुन् भन्ने सन्दर्भमा छलफल गर्ने हो भने केही अनुमान लगाउन सकिएला । एउटा यस्तो परिस्थिति, जहाँ पार्टीका महत्त्वपूर्ण नेताहरू नै केपी ओलीको बर्हिगमन खोजिरहेका र समकालीन राजनीतिमा त्यो पार्टीको सुप्रिमो सर्वाधिक अलोकप्रिय भएको बेलामा ओलीले सहाराका रूपमा विद्यालाई लिएको तथ्य कसैबाट लुकेको छैन । यतिखेर ओली आफ्नो पार्टीसत्ता जोगाउन विद्यालाई रक्षाकवच बनाउन चाहन्छन् भन्ने सत्य पनि अब खुलिसक्यो । ओलीको माखेसाङ्लोमा फसेर पार्टी नेताको पदमा रहेर नै आरामदायी अवकाश जीवन बिताउने कि वाम आन्दोलन निर्माणमा कठोर, संघर्षशील र कठिन जीवन रोज्ने ? यो विद्याकै हातमा छ ।
यसलाई यसरी पनि भनौं, विद्याका सामुन्ने दुईवटा बाटा छन् । पहिलो ओलीको पार्टीसत्ता जोगाउन उनको रक्षाकवच बन्ने । दोस्रो, एमाले पार्टीलाई वामपन्थी मार्गमा फर्काएर समग्र वामएकताका निम्ति एउटा दरिलो र इमानदार सेतु बन्ने । सबैलाई थाहा छ, पहिलो बाटो सत्यानाशकै हो । दोस्रो बाटो पुष्पलाल, मनमोहन र मदन भण्डारी मार्ग हो । साँच्चिकै उनी मदन भण्डारी मार्गमा इमानदारीसाथ उभिइन् भने नेपाली वाम आन्दोलनको इतिहासमा विद्या भण्डारीको नाम स्वर्ण अक्षरमा लेखिने कुरामा कुनै शंका छैन ।
यो पंक्तिकारले ठम्याएसम्म विद्या भण्डारीमा समग्र वाम आन्दोलनको नेतृत्व गर्न सक्ने क्षमता छ । विचारको पक्षमा, अझ खासगरी जनताको बहुदलीय जनवादको पक्षमा उनको निष्ठा लोभलाग्दो देखिन्छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई नैतिक बनाउने मामिलामा, कार्यकर्तालाई अभिभावकत्व प्रदान गर्ने सवालमा मात्र होइन, सरल व्यवहार, मृदुभाषी र निरन्तर क्रियाशील रहनेजस्ता केही महत्त्वपूर्ण गुणहरू उनमा पाइन्छ । समकालीन नेताहरूमा भ्रष्ट्राचारको आरोप नलागेका केही नेतामध्ये उनको पनि नाम आउँछ । राष्ट्रपति रहँदा केपी ओलीका कारण उनको आलोचना भए पनि समग्र कार्यकाल विवादरहित नै रह्यो भन्ने आमबुझाइ छ । यो पृष्ठभूमिमा उनको पुनः पार्टी प्रवेश र प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुनेमा धेरै मान्छे आशावादी छन् । त्यसकारण मुलुकको सर्वोच्च पदमा काम गरिसकेपछि पनि पुनः पार्टी काममा फर्कंदा खासै ठुलो विरोध देखिएको छैन । यो अवसरको फाइदा विद्याले वाम आन्दोलनको हितमा उठाउन सक्नुपर्छ ।
तर अर्को सत्य कुराचाहिँ के हो भने राष्ट्रपति हुन एमाले छाडेर जाँदा जस्तो एमाले थियो, आज पुनः पार्टी काममा फर्कंदा त्यही एमाले छैन । किनकि, एमाले हरेक हिसाबले बिग्रेको छ । विचारधारात्मक हिसाबले आजको एमालेमा जनताको बहुदलीय जनवादको गन्ध पनि पाइँदैन । ‘आई लभ यु केपी बा’को ठुलो र कर्कस ध्वनिमा माक्र्सवाद र लेनिनवादको स्वर निकै सानो सुनिँदै छ । बँचेखुचेको वाम विचार पनि रामको जन्मभूमि खोज्दैमा र शिवको गोत्र पत्ता लगाउँदैमा खर्च भइसक्यो । विद्याको पहिलो काम एमालेलाई विचारधारात्मक हिसाबले वाम खुट्टामा उभ्याउनु हो । त्यसका लागि पार्टीभित्रका र पार्टीबाहिरका इमानदार वामपन्थीका बीचमा शास्त्रार्थ सञ्चालन गर्नका लागि गरिने पहलकदमीको केन्द्रभागमा उभिन उनले हिम्मत गर्नुपर्छ ।
त्यसबाहेक एमालेको अर्को समस्या भनेको, उनीहरू सांस्कृतिक हिसाबले उभिनै नसक्नेगरी पतन भएका छन् । त्यहाँभित्रका कैयौं पदाधिकारीदेखि धेरैजसो वडासम्मका कार्यकर्ताको प्रमुख ध्यान कसरी चुनाव जित्ने भन्ने मात्र देखिन्छ । त्यसका लागि प्रतिक्रियावादी र बिचौलियासँग उठबस र लसपसको भयंकर डरलाग्दा कथा छरपस्ट छन् । चुनावमा टिकट पाउन सुप्रिमोको चाकरी र चुनाव जित्नका लागि धन संग्रह गर्नु धेरैजसो एमालेहरूको प्रमुख राजनीतिक काम भएको पाइन्छ । त्यसबाहेक अनैतिक सम्बन्धका फेहरिस्त प्रहरी चौकीहरूमा, अदालतका फाइलहरूमा, माइतीघरका टेन्टहरूमा र सामाजिक सञ्जालका रोदनहरूमा बग्रेल्ती भेटिन्छन् । अब एमालेलाई पुनर्जाग्रित वा पुनर्गठन गर्ने हो भने कामको सुरुवात सांस्कृतिक क्रान्तिबाट नै गर्नुपर्छ भन्ने तथ्य विद्यालाई कति थाहा छ ? यो पंक्तिकारले अनुमान गर्न सक्दैन । तर कामको सुरुवात गर्ने पहिलो क्षेत्र भने निःसन्देह यही हो ।
अन्त्यमा हामीजस्तो एउटा वाम आन्दोलनको कार्यकर्ता जो पार्टी प्रमुखलाई ‘आई लभ यु’ भन्न सक्दैन, त्यसले कमरेड विद्यालाई दिने सल्लाह के हो भने एमाले पार्टी पुनः वाम आन्दोलनमा नफर्काउने हो भने नेपाली वाम आन्दोलनको यो संस्करण यही समाप्त भएर जान्छ । त्यति मात्र होइन, यो आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याउन गरिएको त्याग, तपस्या र बलिदानलाई पनि नयाँ पुस्ताले सम्मान होइन, अपराधको रूपमा गाली गर्नेछ । यो डरलाग्दो र भयानक सत्यलाई कमरेड विद्याले मनन गर्नु भयो भने इतिहासप्रति उनको योगदान ऐतिहासिक हुन सक्छ ।
फेरि पनि एउटा सत्य उल्लेख गरेर बिट मारौं, वामआन्दोलनको यो संस्करण यहीँ समाप्त भए पनि वाम आन्दोलनकै अर्को संस्करण फेरि उम्रनेछ । फेरि जन्मिनेछ । किनकि, काम गरेर खाने र अर्काको श्रम खोसेर खानेहरूका बीचमा संसारभर चलिरहेको वर्गसंघर्षमा नेपालीहरू फेरि सामेल हुनेछन् । फेरि वाम आन्दोलन उठ्नेछ, तर त्यो उठाइको जग भने आजका नालायक वाम नेताहरूको अनिवार्य पतनबाट मात्रै सम्भव छ ।
(लेखक अर्याल नेकपा(संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।)