२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सोह्रश्राद्धको धार्मिक तथा आध्यात्मिक महत्त्व

Nada
विश्वनाथ खरेल
२०८३ असोज १२ गते ०६:००
Shares
सोह्रश्राद्धको धार्मिक तथा आध्यात्मिक महत्त्व

हिन्दु धर्म र संस्कृतिमा पितृपक्ष अर्थात् सोह्रश्राद्ध एउटा अत्यन्त पवित्र, गम्भीर र महत्त्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । आश्विन कृष्ण पक्षको प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका लगभग १६ दिनको अवधिलाई पितृपक्ष, महालय श्राद्ध वा पार्वण श्राद्ध भनिन्छ । एक पक्षमा सामान्यतया १५ तिथि हुन्छन् तर भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औंसीसम्मका १६ तिथि समेटिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । चन्द्रमानअनुसार चन्द्रमाको गति र तिथिका आधारमा मनाइने यी दिनहरूमा दिवंगत पितृहरूको आत्माको शान्ति, तृप्ति र मोक्षका लागि तर्पण, पिण्डदान, सिदादान र श्राद्धकर्म गरिन्छ । धार्मिक विश्वासअनुसार सूर्य कन्या राशिमा प्रवेश गरेपछि (दक्षिणायन कालमा) पितृहरू आफ्ना सन्तानको घरमा आशा र श्रद्धाको अपेक्षा लिएर आउँछन् । गरुड पुराण, पद्मपुराण, मनुस्मृति र अन्य विभिन्न धर्मशास्त्रहरूमा यस समयमा गरिएको श्राद्धको विशेष फल र महत्त्वबारे विस्तृत चर्चा गरिएको पाइन्छ ।

ncell

सोह्रश्राद्ध गर्नुका पछाडि बहुआयामिक धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक कारण रहेका छन् । हिन्दु दर्शनअनुसार मानिस जन्मँदै तीनवटा मुख्य ऋणबाट बाँधिएको हुन्छ– देवऋण, ऋषिऋण र पितृऋण । हाम्रा पूर्वजहरूले हामीलाई दिएको जीवन, शरीर, संस्कार, कुलधर्म, सम्पत्ति र संरक्षणप्रति कृतज्ञता व्यक्त गर्दै पितृऋणबाट मुक्त हुन श्राद्धकर्म अनिवार्य मानिन्छ । शास्त्रहरूमा भनिएको छ कि पितृहरूलाई तर्पण र पूजा गरेपछि मात्र देवताहरूको पूजाले पूर्णता पाउँछ । पितृहरू प्रसन्न र तृप्त भएमा परिवारमा दीर्घायु, सुयोग्य सन्तान, कीर्ति, धनधान्य, आरोग्य र सुखशान्ति प्राप्त हुन्छ भन्ने दृढ विश्वास छ ।

यसको अर्को मुख्य उद्देश्य दिवंगत आत्माको शान्ति र मोक्ष प्राप्ति हो । मृत्युपश्चात् जीवको सूक्ष्म शरीर पितृलोकमा जाने र त्यहाँ तीन पुस्तासम्मका पितृहरू रहने मानिन्छ । श्राद्धकर्ममा अर्पण गरिने पिण्ड र तर्पणले उनीहरूको सूक्ष्म शरीरलाई पोषण दिन्छ र उनीहरूलाई उच्च लोक वा मोक्षको मार्गमा अघि बढ्न मद्दत पु¥याउँछ । यदि समयमा श्राद्ध गरिएन भने पितृहरू अतृप्त भई परिवारमा पितृदोष उत्पन्न हुने र त्यसका कारण वंश वृद्धिमा अड्चन, आर्थिक अभाव, दुर्घटना, रोगव्याधि तथा पारिवारिक कलहजस्ता समस्या आउने धार्मिक मान्यता छ ।

पौराणिक कथनअनुसार महाभारतका प्रसिद्ध पात्र दानवीर कर्णको कथा यस अनुष्ठानसँग जोडिएको छ । कर्णले आफ्नो जीवनभर सुन, चाँदी, भूमि र बहुमूल्य वस्तुहरू मात्र दान गरे तर कहिल्यै अन्न वा जल पितृहरूका नाममा दान गरेनन् । मृत्युपछि स्वर्ग पुग्दा उनलाई भोजनका रूपमा केवल सुन र चाँदी मात्र प्राप्त भयो । कर्णले यसबारे जिज्ञासा राख्दा देवराज इन्द्रले उनले जीवनभर पितृहरूलाई अन्न र जल अर्पण नगरेको हुनाले यस्तो भएको बताए । त्यसपछि कर्णलाई आफ्नो गल्ती सुधार गर्न १६ दिनका लागि पृथ्वीमा फर्काउने अनुमति दिइयो । पृथ्वीमा आएर कर्णले ती १६ दिनमा आफ्ना पितृहरूका नाममा अन्न र जल अर्पण गरी तर्पण गरे । सोही समयदेखि नै १६ दिनको पितृपक्ष वा सोह्रश्राद्धको परम्परा सुरुआत भएको पौराणिक विश्वास छ । 

श्राद्धका हकदार र तिनको दायरा

सोह्रश्राद्ध मूलतः आफ्ना दिवंगत पूर्वजहरूप्रति समर्पित अनुष्ठान हो । शास्त्रीय विधान अनुसार श्राद्धमा मुख्य रूपमा तीन पुस्तासम्मका पितृहरूलाई पिण्डदान गरिन्छ । जब चौथो पुस्ता आउँछ, पहिलो पुस्ताका पितृहरू पितृलोकबाट मुक्त भई स्वर्ग वा अन्य गतिमा विलीन हुने मान्यता छ ।

श्राद्धकर्ममा आफ्ना पिता, माता, बाजे, बज्यै, परबाजे र परबज्यैलाई विशेष रूपमा सम्झिइन्छ । यसका साथै मावलीतर्फका हजुरबुबा, हजुरआमालगायत तीन पुस्ता, फुपू, मामा, सासू, ससुरा, आफ्ना गुरु, दाजुभाइ तथा अन्य नजिकका दिवंगत आफन्तका नाममा पनि तर्पण र पिण्डदान अर्पण गर्ने विधान छ । यति मात्र नभई, जसको कोही सन्तान वा हकदार छैनन् अथवा जो अज्ञात रूपमा दिवंगत भएका छन्, त्यस्ता सम्पूर्ण अज्ञात पितृहरूको उद्धारका लागि पनि महालय औँसीका दिन विशेष श्राद्ध र तर्पण गर्ने परम्परा छ ।

श्राद्धको शास्त्रीय विधि र प्रक्रिया

श्राद्ध गर्ने मुख्य जिम्मेवारी जेठो छोरा वा पितृतर्फका पुरुष सन्तानको हुन्छ । छोरा नभएको अवस्थामा नाति, भतिजा, ज्वाइँ वा छोरीले पनि श्राद्ध गर्न सक्ने कानुनी र शास्त्रीय छुट छ । मातृपक्षका लागि छोरीको छोरा अर्थात् नाति विशेष उपयुक्त मानिन्छ ।

श्राद्ध सुरु हुनुभन्दा एक दिनअघि (देउराउनी वा एकछाकीका दिन) कर्ताले कपाल मुण्डन गरी, नङ काटेर, नुहाइधुवाइ गरी पूर्ण सात्विक आहार लिनुपर्छ । श्राद्धको दिन मध्याह्नपछि अर्थात् अपराह्नकालमा शुद्ध वस्त्र धारण गरी दक्षिण दिशातर्फ फर्किएर श्राद्धकर्म सम्पादन गरिन्छ । तर्पणका लागि तामाको भाँडोमा जल, कालो तिल, जौ र कुशको प्रयोग गरिन्छ । पिण्डदान गर्दा चामलको पिठो वा चामल, दूध, घिउ, मह र तिल मिसाएर पकाइएको पिण्ड तयार गरी पितृहरूलाई भक्तिपूर्वक अर्पण गरिन्छ ।

श्राद्धकार्य सम्पन्न भएपछि विधिपूर्वक ब्राह्मणलाई सिदादान, वस्त्र, दक्षिणा र भोजन गराइन्छ । त्यसपछि पञ्चबली अर्थात् गाई, कौवा, कुकुर, कमिला र देवतातर्फ भोजनको भाग छुट्ट्याएर खुवाउनुपर्छ । विशेषगरी कौवालाई पितृको सन्देशवाहक र गाई तथा कुकुरलाई पवित्र प्राणी मानिने हुनाले उनीहरूलाई खुवाइने भोजनले पितृसम्म तृप्ति पुग्छ भन्ने विश्वास छ । श्राद्ध आफ्नै घरमा वा पशुपति, देवघाट, बराहक्षेत्र, रिडी, मुक्तिनाथ, बेत्रावतीजस्ता पवित्र तीर्थस्थलमा गर्नुपर्छ, अर्काको घरमा गएर श्राद्ध गर्न भने निषेध गरिएको छ ।

आधुनिक सन्दर्भ र प्रासंगिकता

आजको आधुनिक र व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरूले श्राद्धकर्मलाई केवल एउटा बोझ वा औपचारिकतामा सीमित गर्न थालेको देखिन्छ । कतिपयले समयाभावका कारण यसलाई छोट्याउने वा छल्ने प्रयास पनि गर्छन् । तर पद्मपुराण र मनुस्मृतिजस्ता ग्रन्थहरूमा श्राद्ध विधिभन्दा पनि कर्ताको श्रद्धा, भक्ति र भावना मुख्य हुने उल्लेख छ ।

विदेशमा बस्ने, कडा पेसागत व्यस्ततामा रहेका वा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि पनि शास्त्रले विभिन्न विकल्प दिएको छ । पण्डितमार्फत संकल्प गराएर, ब्राह्मण भोजन गराएर, तिल र जलले मात्र तर्पण दिएर वा पितृहरूको नाममा सामाजिक कार्यमा दान गरेर पनि पितृभक्ति व्यक्त गर्न सकिन्छ । मूलतः सोह्रश्राद्धले हामीलाई हाम्रो समाज, संस्कृति र परिवारको अस्तित्व हाम्रा पूर्वजहरूको त्याग र मिहिनेतमा टिकेको छ भन्ने दायित्वबोध गराउँछ । यसले पुस्तान्तरको सम्बन्धलाई जोड्दै जीवनमा अनुशासन, शुद्धता र कृतज्ञताको पाठ सिकाउँछ । त्यसैले प्रत्येक हिन्दु गृहस्थले यसलाई धर्म र संस्कारका रूपमा मनैदेखि स्वीकार गरी श्रद्धापूर्वक सम्पन्न गर्न आवश्यक छ ।

ताजा खबर

सम्बन्धित खबर