२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

राहत अभियानमा मुस्लिम समुदायको सक्रियता

Nada
इसत्याक अहमद
२०८३ भदौ २५ गते २२:१२
Shares
राहत अभियानमा मुस्लिम समुदायको सक्रियता

विराटनगर : सुनकोशी लगायतका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार कार्यमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ ।

ncell

देशभरका मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था, व्यापारी वर्ग तथा विदेशमा रहेका नेपालीका संघ–संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्री वितरण गरिरहेका छन् ।

विपद्को तेस्रो–चौथोक दिनदेखि नै विभिन्न संघ–संस्था, समूह तथा व्यक्तिहरूले गाडीमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुग्ने र पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य आवश्यक सामग्री वितरण गर्ने क्रम जारी राखेका छन् ।

यसै क्रममा सुनसरी मुस्लिम समाजले जिल्लाका विभिन्न मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था तथा व्यापारी वर्गबाट संकलित सहयोगको विवरण व्यवस्थित गरी सरकारको राहत कोषमा जम्मा गरिएको रकमका बैंक भौचर तथा डिपोजिट स्लिप जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

जिल्लाका मुस्लिम अगुवा, नेता, बुद्धिजीवी तथा ओलमाहरूको उपस्थितिमा ६२ लाख ४५ हजार ४९ रुपैयाँ बराबरका भौचर तथा डिपोजिट स्लिप प्रमुख जिल्ला अधिकारीसमक्ष हस्तान्तरण गरिएको हो । ‘समाजले अभियान केही ढिलो सुरु गरेको थियो ।

यसअघि नै सुनसरीबाट विभिन्न व्यक्ति, समूह र संस्थामार्फत ठूलो परिमाणमा राहत सामग्री घटनास्थलमा पुगिसकेको थियो,’ सुनसरी मुस्लिम समाजका अध्यक्ष नईम अन्सारीले मध्यान्हलाई बताए । उनका अनुसार हाल बुझाइएको रकम सबै सहयोगको पूर्ण विवरण भने होइन । धेरै व्यक्ति तथा समूहले प्रत्यक्ष रूपमा राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरेकाले त्यसको मूल्य यसमा समावेश गरिएको छैन ।

अन्सारीका अनुसार सबै विवरण प्राप्त भएपछि सरकारको राहत कोषमा जम्मा भएको रकम करोड रुपैयाँभन्दा माथि पुग्नसक्ने र प्रत्यक्ष रूपमा वितरण गरिएका राहत सामग्रीको मूल्यसमेत जोड्दा समुदायको कुल योगदान अझ धेरै ठूलो हुने देखिन्छ । दुहबीका नेकपा नेता हैदर अलीले प्रशासनलाई आजसम्म प्राप्त विवरण मात्र बुझाइएको बताए ।

उनका अनुसार राहत अभियान अझै जारी रहेकाले आगामी दिनमा थप रकम तथा सामग्री संकलन हुने सम्भावना छ । पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले विपद्को समयमा मुस्लिम समुदायले आफ्नो सामाजिक संरचनालाई मानवीय सेवामा परिचालन गर्नु सकारात्मक भएको बताए ।

मस्जिद, मदरसा, बस्ती, व्यापारी तथा देश–विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई जोडेर राहत अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै उनले विपद्को पीडा कुनै एक धर्म वा समुदायको मात्र नभएको बताए । उनले राहत संकलनसँगै त्यसको पारदर्शी र प्रभावकारी वितरणमा पनि ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित खबर