२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अग्रगामी मोर्चा बनेपछि विपक्षी आत्तिए : प्रभु साह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक ७ गते १६:१४
Shares
अग्रगामी मोर्चा बनेपछि विपक्षी आत्तिए : प्रभु साह

रौतहट : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशवादी तथा प्रगतिशील दलहरू एकजुट भएर अग्रगामी मोर्चा गठन गरेपछि विपक्षी राजनीतिक वृत्तमा हलचल मच्चिएको बताएका छन्।

ncell

मधेशवादी दलहरू छुट्टाछुट्टै रहँदा स्वीकार्य हुने तर जनताको अधिकार र समृद्धिका लागि साझा मोर्चा बनाउँदा आलोचना हुनु विपक्षीको राजनीतिक छटपटी भएको उनको टिप्पणी छ।

शुक्रबार साँझ रौतहटको गरुडामा अग्रगामी मोर्चा गरुडा नगर कमिटीले आयोजना गरेको विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै साहले यस्तो बताएका हुन्।

उनले मधेश र समग्र देशको विकासका लागि अग्रगामी शक्तिहरू एकजुट हुनु समयको माग भएको उल्लेख गरे। राजनीतिक दलहरू विभाजित हुँदा जनताको अधिकारका लागि हुने संघर्ष कमजोर बन्ने उनको भनाइ थियो।

‘हामी अलग-अलग रहँदा सबै मधेशवादी दल र तिनका नेता ठीक हुने, तर समृद्धिका लागि मिलेर साझा मोर्चा निर्माण गर्दा विपक्षीको नजरमा हामी खराब कसरी भयौँ ?’ साहले प्रश्न गरे।

जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितका दलहरू सहभागी अग्रगामी मोर्चाको उद्देश्य सरकारको आलोचना मात्र नभई जनताका साझा मुद्दामा सशक्त दबाब सिर्जना गर्नु रहेको उनले स्पष्ट पारे।

अध्यक्ष साहले वर्तमान सरकारलाई चुनावअघि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न चुनौतीसमेत दिए। विदेशमा रहेका नेपाली युवालाई स्वदेशमै रोजगारी दिने, महँगी नियन्त्रण गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने आश्वासन सत्तामा पुगेपछि बिर्सनु जनताको विश्वासमाथिको धोका भएको उनको आरोप थियो।

रौतहटको स्थानीय अर्थतन्त्रसँग जोडिएको लामो समयदेखि बन्द श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। उद्योग सञ्चालनमा आए स्थानीय किसान, श्रमिक तथा सर्वसाधारणले रोजगारी र आर्थिक राहत पाउने भएकाले यसको पुनरुत्थानलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

सार्वजनिक खरिद प्रक्रिया र पारदर्शिताको विषय उठाउँदै साहले सरकारले अनलाइन बिडिङ प्रणाली विस्थापित गरेर हार्डकपीमार्फत ठेक्का व्यवस्थापन गर्ने प्रक्रिया अपनाउनु सुशासनको उपहास भएको टिप्पणी गरे।

‘अनलाइन बिडिङ हटाएर अफलाइन ठेक्का प्रक्रिया ल्याउनुको औचित्य के हो ? प्रतिस्पर्धालाई गोप्य राखेर अपारदर्शी ढंगले आसेपासेको मिलेमतोमा सिन्डिकेट चलाउनु सुशासन हो कि कुशासन ?’ उनले प्रश्न गर्दै सरकारले यसको स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा जनभावनाविपरीत काम गर्ने राजनीतिक शक्तिलाई मतदाताले मतमार्फत जवाफ दिने दाबीसमेत गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशका पूर्वमन्त्री योगेन्द्र राय यादवले वर्तमान सत्ता गठबन्धन र देशको राजनीतिक शैलीको आलोचना गरे। दुई ठूला दलबीचको सत्ता स्वार्थमा आधारित सहकार्यले जनतामा असन्तुष्टि बढाएको र त्यसैको परिणामस्वरूप जेनजी विद्रोहजस्ता राजनीतिक असन्तोष देखिएको उनको तर्क थियो।

विश्वका अन्य लोकतान्त्रिक मुलुकमा दुई ठूला दल मिलेर सरकार चलाउने अभ्यास विरलै हुने उल्लेख गर्दै यादवले देशलाई निकास दिन र जनताको आवाज बलियो बनाउन अग्रगामी मोर्चा गठन गरिएको बताए।

त्यस्तै, जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए। उनले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा मधेशमा अग्रगामी मोर्चाले स्पष्ट बहुमत हासिल गर्ने दाबी गरे। अग्रगामी मोर्चा गरुडा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा मोर्चामा आबद्ध विभिन्न राजनीतिक दलका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रम व्यवस्थापनमा जसपा नेता तथा सांसदका प्रत्याशी राजकुमार दासले प्रमुख भूमिका निर्वाह गरेका थिए भने जसपाका मधेश प्रदेश कार्यकारिणी सदस्य एवं गरुडाका मेयरका उम्मेदवार अनिल यादवले कार्यक्रमको संयोजन गरेका थिए। कार्यक्रममा राजनीतिक एकता, सुशासन, औद्योगिक विकास र आगामी निर्वाचनको रणनीतिबारे चर्चा गरिएको थियो।

ताजा खबर

सम्बन्धित खबर