
म्याग्दी : बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले ठूलो क्षति पुर्याएको हो।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको छ। बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा ठूलो क्षति भएको कार्यालयका इन्जिनियर मोहन रुवालीले बताए।
उनका अनुसार बेनीदेखि मंगला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ। नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ। यस खण्डमा मात्रै सडक पूर्वाधारमा तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदीको कटानले करिब एक सय मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ। पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ। त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब एक सय ५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्याएको छ।
सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सिधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ।
साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बलौटेमा नदी कटानले करिब एक सय मिटर सडक डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन छ।
उनले क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम रहेको बताए। सडक पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
उलकका अनुसार बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा पुनर्निर्माण गर्न दुई करोड २७ लाख ४३ हजार पाँच सय ९९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बलौटेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको र दसैँलगत्तै काम सुरु गरिने उनले बताए।
म्याग्दी क्षेत्र नम्बर १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए। आवश्यक बजेट व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उनले जानकारी दिए।
कार्यालयका अनुसार अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन गरिएको छ। फापरखेत पहिरोका कारण शनिबारदेखि पखेर–बरंजाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत सञ्चालन गरिएको छ।
बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर चार सय मिटर खण्ड कालोपत्र भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटर सडकमा धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्त्वपूर्ण मार्ग हो। धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो।