२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

Nada
२०८३ भदौ २५ गते १७:११
Shares
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

काठमाडौं : शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

ncell

उनका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । उनले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।

उनले बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

उनले नेपाल–इन्डिया इन्टरगभर्मेन्टल सबकमिटी आईजिएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत भएको बताए । उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गर्दै उक्त पदमा सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहको नाम सिफारिस गरिएको समेत जानकारी दिए ।

सम्बन्धित खबर